
काठमाडौँ । उज्यालो नेपाल पार्टीले स्थानीय तहको निर्वाचन गैरदलीय आधारमा सञ्चालन गर्नुपर्ने र विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने माग अघि सारेको छ। पार्टीले आफ्ना माग समेटिएको ज्ञापनपत्र आज निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ।
पार्टीका अध्यक्ष कुलमान घिसिङको नेतृत्वमा आज अपराह्न ४:३० बजे काठमाडौँको कान्तिपथस्थित निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पुगेर आयोगका पदाधिकारीलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको पार्टीले जनाएको छ।
पार्टीका अनुसार लोकतान्त्रिक अभ्यासलाई थप समावेशी बनाउन स्थानीय निर्वाचनलाई दलीय प्रभावबाट अलग राख्नुपर्ने आवश्यकता छ। साथै, वैदेशिक रोजगारीलगायत विभिन्न कारणले विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकलाई पनि मतदान प्रक्रियामा सहभागी हुने व्यवस्था मिलाउनुपर्ने उसको माग छ।
निर्वाचन प्रणालीमा सुधार र प्रवासमा रहेका नेपालीको राजनीतिक सहभागितालाई जोड दिँदै पार्टीले यी विषयमा आयोगको ध्यानाकर्षण गराउन लागेको हो।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा समाचार संकलन तथा सम्प्रेषणका लागि उपस्थित हुन उज्यालो नेपाल पार्टीले सञ्चारकर्मी तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ।









Facebook Comments