काठमाडौं । नेपाल र भारतबीच सीमा सुरक्षा मजबुत बनाउने तथा सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्ने विषयमा छलफल गर्न दुवै देशका सुरक्षा निकायबीच १०औँ द्विपक्षीय समन्वय बैठक काठमाडौंमा सुरु भएको छ ।

बुधबारदेखि सुरु भएको बैठक कात्तिक १३ गतेसम्म सञ्चालन हुने सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । बैठकमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक संजय सिंघलले भारतीय टोलीको नेतृत्व गरेका छन् भने नेपाली टोलीको नेतृत्व सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले गरिरहेका छन् ।

ad

नेपाल–भारत खुला सिमानाको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउने, सीमापार अपराध नियन्त्रण गर्ने र दुवै देशका सुरक्षा निकायबीच सूचना आदानप्रदान तथा सहकार्य विस्तार गर्ने बैठकको मुख्य उद्देश्य रहेको छ ।

बैठकमा सीमा क्षेत्रमा हुने मानव तस्करी, लागूऔषध ओसारपसार, अवैध हातहतियारको कारोबार तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रणका लागि भइरहेका प्रयासको समीक्षा गरिनेछ । सीमा व्यवस्थापनमा देखिएका चुनौती पहिचान गरी समाधानका उपाय खोज्ने विषयमा पनि छलफल हुने बताइएको छ ।

सीमासम्बन्धी व्यवस्थापन संयन्त्रको मार्गदर्शनअनुसार दशगजामा भएका अतिक्रमण हटाउने, सीमा स्तम्भको संरक्षण गर्ने तथा बिग्रिएका स्तम्भको मर्मतसम्भार र आवश्यक निर्माणका विषयलाई पनि बैठकमा समेटिनेछ । सीमावर्ती क्षेत्रमा शान्ति सुरक्षा कायम गर्नुका साथै स्थानीय बासिन्दासँग सुरक्षा निकायको सम्बन्ध र सहकार्य सुदृढ बनाउने विषयले समेत प्राथमिकता पाउनेछ ।

त्यसैगरी, खुला सिमानाको दुरुपयोग गर्दै तेस्रो मुलुकका नागरिकबाट हुन सक्ने अवैध आवागमन नियन्त्रण तथा नियमनका उपायबारे दुवै पक्षले छलफल गर्नेछन् । सीमा निगरानी र व्यवस्थापनलाई आधुनिक तथा प्रभावकारी बनाउन प्रविधिको प्रयोग विस्तार गर्ने विषय पनि बैठकको कार्यसूचीमा रहेको छ ।

बैठकमा नेपालका तर्फबाट गृह तथा परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नापी विभागका प्रतिनिधिहरू सहभागी छन् । भारतीय टोलीमा गृह तथा विदेश मन्त्रालय, नेपालस्थित भारतीय राजदूतावास र सशस्त्र सीमा बलका उच्च अधिकारीहरू सहभागी भएका छन् ।

सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी नेत्रबहादुर कार्कीका अनुसार बैठकले सीमा सुरक्षा, अपराध नियन्त्रण र व्यवस्थापनका क्षेत्रमा दुवै देशबीचको समन्वयलाई थप व्यवस्थित बनाउने विषयमा केन्द्रित रहेर छलफल गर्नेछ ।

नियमित रूपमा आयोजना हुँदै आएको द्विपक्षीय बैठकलाई सीमा क्षेत्रमा देखिने साझा चुनौतीबारे छलफल गर्ने र सुरक्षा निकायबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने महत्वपूर्ण संयन्त्रका रूपमा लिइएको छ ।