काठमाडौं । ललितपुर महानगरपालिका–१३ स्थित कुसुन्ती हाइटमा चक्रपथ पार गर्न निर्माण भइरहेको लिफ्टसहितको आकाशे पुल आगामी दुई महिनाभित्र सञ्चालनमा ल्याउने तयारी गरिएको छ। करिब पाँच करोड रुपैयाँ लागतमा निर्माण भइरहेको पुलको काम अहिले तीव्र गतिमा अघि बढाइएको महानगरपालिकाले जनाएको छ।

ललितपुर महानगरपालिकाकी प्रेस संयोजक रमा लुईटेलका अनुसार पैदलयात्रीलाई सुरक्षित रूपमा सडक वारपार गराउने र दुर्घटनाको जोखिम घटाउने उद्देश्यले पुल निर्माण गरिएको हो।

ad

चक्रपथमा सडक पार गर्नुपर्ने सर्वसाधारणलाई सहज सुविधा उपलब्ध गराउने लक्ष्यसहित बनाइएको यस संरचनामा विशेषगरी अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी तथा सिँढी उक्लन कठिनाइ हुने व्यक्तिलाई लक्षित गरेर लिफ्ट जडान गरिएको छ।

दुवैतर्फ लिफ्ट, स्तनपान कक्ष र कफी सप पनि
निर्माणाधीन पुलको दुवैपट्टि लिफ्ट राखिएको छ। प्रयोगकर्ताले आवश्यक दिशातर्फ जान सम्बन्धित बटन थिचेर लिफ्ट प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको महानगरपालिकाले जनाएको छ।

लिफ्टको सुविधाले शारीरिक रूपमा अशक्त व्यक्ति तथा अन्य विशेष अवस्थाका पैदलयात्रीलाई चक्रपथ वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ।

पुलमा लिफ्टबाहेक स्तनपान कक्ष र कफी सपसमेत राख्ने योजना छ। आधुनिक सुविधा समेटेर निर्माण भइरहेको यो संरचना नेपालमा फरक प्रकृतिको आकाशे पुल हुने लुईटेलको दाबी छ।

निर्माणमा ढिलाइ, अहिले काम तीव्र
पुलको शिलान्यास भएको दुई वर्ष पुगिसकेको भए पनि निर्माण निर्धारित समयमै सम्पन्न हुन सकेको छैन। आवश्यक निर्माण सामग्री समयमा उपलब्ध हुन नसक्दा आयोजना प्रभावित भएको महानगरपालिकाले जनाएको छ।

प्रेस संयोजक लुईटेलका अनुसार अहिले निर्माणलाई गति दिइएको छ र करिब दुई महिनाभित्र काम सम्पन्न गरेर सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।

पुल सञ्चालनमा आएपछि कुसुन्ती हाइट र आसपासका क्षेत्रका बासिन्दालाई चक्रपथ वारपार गर्न सहज हुने अपेक्षा गरिएको छ। विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र शारीरिक कठिनाइ भएका पैदलयात्रीले यसबाट लाभ लिन सक्नेछन्।

यद्यपि, पुल सञ्चालनमा आउने अनुमानित समय सार्वजनिक गरिए पनि यसको औपचारिक उद्घाटन मिति भने तय भइसकेको छैन। निर्धारित समयभित्र निर्माण सम्पन्न गरी सुविधा नियमित रूपमा सञ्चालन गर्न सक्नु नै अब महानगरपालिकाका लागि महत्त्वपूर्ण पक्ष हुनेछ।