
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले सन् २०२७ को जनवरी २१ देखि फेब्रुअरी ६ सम्म नेपाल र बंगलादेशमा संयुक्त रूपमा सञ्चालन हुने आइसिसी यू-१९ महिला टी-२० विश्वकपको खेल तालिका सार्वजनिक गरेको छ। प्रतियोगिताको यो तेस्रो संस्करणमा १६ टोलीले कुल ४१ खेल खेल्नेछन्।
प्रतियोगिताका खेलहरू नेपालको काठमाडौँस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्राष्ट्रिय क्रिकेट मैदान र उपल्लो मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानका साथै बंगलादेशका चटगाउँ र सिलहटमा सञ्चालन हुनेछन्। सहभागी टोलीहरूलाई चार समूहमा विभाजन गरिएको छ, जसअन्तर्गत समूह 'ए' मा नेपाल, भारत, आयरल्याण्ड र वेस्टइन्डिज रहेका छन्। त्यस्तै समूह 'बी' मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पाकिस्तान र सामोआ, समूह 'सी' मा अष्ट्रेलिया, बंगलादेश, नाइजेरिया र यूएई तथा समूह 'डी' मा इङ्ल्याण्ड, श्रीलंका, अमेरिका र स्कटल्याण्ड परेका छन्।
प्रतियोगिताको उद्घाटन दिन जनवरी २१ मा चार खेल हुनेछन्, जसमा सिलहटमा बंगलादेश र यूएई तथा अष्ट्रेलिया र नाइजेरिया भिड्नेछन् भने काठमाडौँको उपल्लो मुलपानी मैदानमा श्रीलंकाले स्कटल्याण्ड र इङ्ल्याण्डले अमेरिकाको सामना गर्नेछन्।
दुई पटकको डिफेन्डिङ च्याम्पियन भारतले जनवरी २२ मा काठमाडौँको त्रिवि मैदानमा वेस्टइन्डिजविरुद्ध खेल्दै उपाधि रक्षा अभियान सुरुआत गर्नेछ भने सोही दिन आयोजक नेपालले आयरल्याण्डविरुद्ध खेल्दै आफ्नो यात्रा सुरु गर्नेछ।
जनवरी २६ सम्म चल्ने समूह चरणपछि शीर्ष टोलीहरू सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्। प्रतियोगिताको सेमिफाइनल फेब्रुअरी ४ मा चटगाउँमा हुनेछ भने फाइनल खेल फेब्रुअरी ६ गते दिउँसो १:३० बजे सञ्चालन हुनेछ, जसका लागि फेब्रुअरी ७ लाई जगेडा दिन राखिएको छ। आइसिसीका प्रमुख कार्यकारी अधिकृत सञ्जोग गुप्ताले युवा जनसङ्ख्या र क्रिकेटप्रतिको उच्च क्रेजका कारण नेपाल र बंगलादेश यस विश्वकपका लागि उत्कृष्ट आयोजक बनेको बताएका छन्।









Facebook Comments