नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय अध्यक्ष देवेन्द्र कुमार शेरचन नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्की क्षेत्र नम्बर ३ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन् ।

नेपाली कांग्रेसको जारी क्षेत्रीय अधिवेशनअन्तर्गत कास्की क्षेत्र नम्बर ३ मा अग्रज नेताहरू, पार्टी कार्यकर्ता तथा शुभचिन्तकहरूको सर्वसम्मत सहमतिमा उहाँ महाधिवेशन प्रतिनिधिमा चयन भएका हुन् ।

ad

सर्वसम्मत चयन भएपश्चात् अध्यक्ष शेरचनले आफूलाई विश्वास गरेर जिम्मेवारी सुम्पिने सम्पूर्ण अग्रज नेताहरू, समकालीन साथीहरू तथा शुभचिन्तकहरूप्रति आभार व्यक्त गरेका छन् । उनले पार्टीको संगठन सुदृढीकरण, खेलकुद क्षेत्रको विकास र युवाहरूलाई राजनीति तथा खेलकुदमा परिचालन गर्न आफ्नो भूमिका निरन्तर रहने प्रतिबद्धता जनाए ।

यसैबीच, महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएसँगै शेरचनले आसन्न १५औँ महाधिवेशनमा नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने तयारी गरेको बुझिएको छ ।  लामो समयदेखि खेलकुद राजनीति र पार्टी संगठनमा सक्रिय रहँदै आएका शेरचनले पार्टीलाई थप सुदृढ, समावेशी र भ्रातृ संघ-संगठनहरूलाई सशक्त बनाउन केन्द्रीय नेतृत्वमा आफ्नो उपस्थिति आवश्यक रहेको बताउने गरेका छन् ।