
काठमाडौं: कीर्तिपुर मैदानमा यही कात्तिक ९ गतेदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) काे प्रयोग हुने भएको छ ।
नेपाल प्रिमियर लिगकाे अफिसियल फेसबुक पेजमार्फत यसपटकको एनपीएलमा डीआरएस प्रयोग हुने जानकारी दिएको हो ।
डीआरएस क्रिकेटमा पछिल्लो समय प्रयोग हुँदै आएको चर्चित प्रविधि हो । यसले अम्पायरको निर्णय चित्त नबुझेमा वा गलत भएजस्तो लागेमा त्यसलाई रिभ्यू गर्ने अवसर प्रदान गर्न सक्छ जसका कारण बलिङ टिमले विकेट प्राप्त गर्न सक्छ भने ब्याटिङ टिमले विकेट फर्काउन सक्छ ।
अब एनपीएलमा एलबीडब्लुको रिभ्यूका लागि फूल थ्रीडी बल ट्रयाकिङको प्रयोगका साथै रनआउट, स्टम्पिङ र नो बलको पनि रिभ्यू हुनेछ ।
यस्तै एआई माध्यमबाट ब्याटमा लागेको एज डिटेक्सन पनि हुनेछ भने हाइटको वाइड, छक्काको लम्बाई र उचाइ मापनसहित अन्य बलिङ एनालिटिक्स पनि उपलब्ध हुने जनाएको छ ।
नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले एनपीएलमा डीआरएस प्रयोग हुने कुरा नेपाली क्रिकेटका लागि काेशेढुंगा सावित हुने बताउनुभयो ।









Facebook Comments