
झापा — दसैँको चहलपहल चलिरहेका बेला जंगली हात्तीको आक्रमणबाट दुई स्थानीयको मृत्यु भएपछि झापाको बाह्रदशी गाउँपालिका–२ शोकमा डुबेको छ। बिहान मर्निङवाकमा निस्किएका एक वृद्ध र एक वृद्धाको एउटै बिहान हात्तीको आक्रमणमा परी ज्यान गएको हो।
मृत्यु हुनेमा बाह्रदशी गाउँपालिका–२, चैतनियाबारीका ७३ वर्षीय झप्टु राजवंशी र जनता बजारकी ७० वर्षीया लजमा खातुन रहेका छन्।
हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका राजवंशीको उपचारका क्रममा आज बिहान १० बजे बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको उनका ज्वाइँ शंकरदेव राजवंशीले जानकारी दिएका छन्।
प्राप्त विवरणअनुसार बिहान करिब ५ बजे मर्निङवाकमा निस्किएका राजवंशीलाई बाह्रदशी जंगलबाट गाउँ पसेका दुईवटा जंगली हात्तीले बाह्रदशी–२ को खाडी गाउँमा आक्रमण गरेका थिए। आक्रमणबाट उनको खुट्टा र करङमा चोट लागेको थियो। गम्भीर अवस्थामा रहेका उनलाई तत्काल उपचारका लागि बीएण्डसी अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो।
यसअघि सोही बिहान हात्तीको आक्रमणबाट खातुनको ज्यान गएको थियो। बिहान करिब ५ः४० बजे मर्निङवाकमा निस्किएकी उनलाई राजगढ–घेराबारी सडकखण्डअन्तर्गत जनता चोकको दक्षिणतर्फ हात्तीले आक्रमण गरेको थियो।
गम्भीर घाइते खातुनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
एउटै बिहान दुई जनाको ज्यान गएपछि गाउँमा त्रास
स्थानीयका अनुसार राजवंशीमाथि आक्रमण गरेपछि हात्तीहरू केही समयमै जनता चोकको दक्षिणतर्फ पुगेका थिए। त्यही क्रममा खातुनमाथि पनि आक्रमण भएको बताइएको छ।
घटनाका प्रत्यक्षदर्शी धनबहादुर राजवंशीका अनुसार बिहानै चारकोसे जंगलबाट दुईवटा हात्ती बस्तीमा प्रवेश गरेका थिए। तीमध्ये पछाडि रहेको हात्तीको आक्रमणबाट खातुनको मृत्यु भएको उनले बताएका छन्।
दसैँका बेला बिहानको नियमित हिँडडुलमा निस्किएका दुई स्थानीयले ज्यान गुमाएपछि बाह्रदशी क्षेत्रका बासिन्दामा त्रास बढेको छ। चाडपर्वको समयमा भएको यस घटनाले स्थानीय परिवार र समुदायलाई शोकमा पारेको छ भने बस्ती आसपास जंगली हात्तीको आवागमनलाई लिएर चिन्ता थपिएको छ।









Facebook Comments