काठमाडौँ — बडादसैँका बेला सार्वजनिक यातायातको उपलब्धता कम हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गरेको छ। चाडपर्वका समयमा यात्रुलाई आवतजावतमा सहजता प्रदान गर्ने उद्देश्यले प्रहरीले तीनवटा रुट निर्धारण गरी सेवा उपलब्ध गराएको हो।

प्रहरीका अनुसार निःशुल्क बस सेवा नक्सालबाट सुरु भई उपत्यकाका विभिन्न प्रमुख चोक, बजार तथा बस्ती हुँदै पुनः नक्सालमै फर्किने गरी सञ्चालन हुनेछ। यसबाट दसैँका बेला सार्वजनिक सवारीसाधनको प्रतीक्षामा रहेका यात्रुलाई राहत पुग्ने अपेक्षा गरिएको छ।

ad

तीनवटा रुटमा बस सञ्चालन
रुट नम्बर १ : नक्साल हुँदै उपत्यकाका विभिन्न क्षेत्र

यो रुटको बस नक्सालबाट छुटेर बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक, कृष्णपाउरोटी र जयनेपाल हल हुँदै पुनः नक्साल पुग्नेछ।

रुट नम्बर २ : नक्सालदेखि सूर्यविनायकसम्म

दोस्रो रुटको बस नक्सालबाट रत्नपार्क, बानेश्वर, कोटेश्वर, सल्लाघारी हुँदै सूर्यविनायक चोकसम्म पुग्नेछ। त्यहाँबाट फर्किँदा कोटेश्वर, एयरपोर्ट, गौशाला, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ र बालुवाटार हुँदै नक्साल आइपुग्नेछ।

रुट नम्बर ३ : प्रमुख चोक जोड्ने सेवा

तेस्रो रुटअन्तर्गत नक्सालबाट सोह्रखुट्टे, बालाजु चोक, नयाँ बसपार्क, नारायण गोपाल चोक, चक्रपथ, सुकेधारा, गौशाला, एयरपोर्ट, कोटेश्वर, सातदोबाटो, एकान्तकुना, बल्खु, कलंकी, नयाँ बसपार्क, चक्रपथ र महाराजगन्ज हुँदै बस पुनः नक्साल फर्किनेछ।

यस्तो छ बस सञ्चालनको समय
प्रहरीका अनुसार नवमीका दिन तीनवटै रुटमा पहिलो सिफ्टको निःशुल्क बस सेवा दिउँसो ४ बजेदेखि सञ्चालन गरिएको छ।

त्यस्तै, दसैँको टीकाका दिन पहिलो सिफ्ट बिहान ८ बजेदेखि र दोस्रो सिफ्ट दिउँसो ३ः३० बजेदेखि सञ्चालन हुने व्यवस्था गरिएको छ।

दसैँका बेला धेरै सार्वजनिक सवारीसाधन नियमित रूपमा सञ्चालन नहुन सक्ने भएकाले नेपाल प्रहरीले सुरु गरेको यो सेवाले उपत्यकाभित्र यात्रा गर्ने सर्वसाधारणलाई सहयोग पुग्ने विश्वास गरिएको छ। विशेषगरी चाडपर्वका अवसरमा आफन्तकहाँ जाने तथा आवश्यक कामले आवतजावत गर्ने यात्रु यसबाट लाभान्वित हुन सक्नेछन्।