
काठमाडौँ । बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाडेर आफ्नो गाउँघर फर्किनेको संख्या बढेसँगै राजधानीका सडक र बजार क्षेत्रमा चहलपहल घट्दै गएको छ। घटस्थापनादेखि आज बिहानसम्म करिब ६ लाख मानिसले उपत्यका छाडिसकेको जनाइएको छ।
अध्ययन, रोजगारी तथा व्यापार–व्यवसायका सिलसिलामा काठमाडौँमा बसोबास गर्दै आएका नागरिक दसैँ मनाउन आफ्नो पुर्ख्यौली थलो फर्किन थालेपछि राजधानीका भित्री सडक र बजार तुलनात्मक रूपमा सुनसान देखिन थालेका छन्।
नेपालीहरूको प्रमुख सांस्कृतिक तथा पारिवारिक पर्वका रूपमा रहेको दसैँ मनाउन देशका विभिन्न जिल्लाबाट राजधानीमा आएका तथा स्थायी रूपमा बसोबास गर्दै आएका नागरिक घर फर्किने क्रम जारी छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार चाडपर्व मनाउन बाहिरिने यात्रुको चापसँगै लामो तथा छोटो दूरीका सार्वजनिक सवारीसाधनमा यात्रुको आवागमन बढेको छ। उपत्यकाका प्रमुख बसपार्क तथा बाहिरिने नाकाहरूमा घर फर्किने यात्रुको भीड देखिएको छ।
भोलि विजया दशमीको टीका रहेकाले मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्न नागरिकहरू आ–आफ्नो घर पुग्ने हतारमा छन्। त्यसैले आज साँझ अबेरसम्म पनि बसपार्क र उपत्यकाका विभिन्न नाकामा घर फर्किने यात्रुको चहलपहल देखिएको छ।
दसैँको आगमनसँगै राजधानीबाट बाहिरिनेको संख्या बढ्दा काठमाडौँको दैनिकीमा समेत परिवर्तन देखिन थालेको छ।









Facebook Comments