
काठमाडौं । दसैं, तिहार र छठ पर्वका सार्वजनिक बिदामा समेत वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपाली श्रमिकको शव निःशुल्क रूपमा घरसम्म पुर्याइने भएको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयले चाडपर्वका समयमा पनि सेवा निरन्तर राख्न चौबिसै घण्टा सञ्चालन हुने व्यवस्था मिलाएको जनाएको छ।
बोर्डले शव ढुवानी सेवा प्रभावित नहोस् भन्ने उद्देश्यले सम्पर्क कर्मचारी र सेवा प्रदायकहरू तोकेको छ। यस व्यवस्थाअनुसार विदेशमा मृत्यु भएका श्रमिकको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सम्बन्धित व्यक्तिको घरको ठेगानासम्म निःशुल्क ढुवानी गरिनेछ।
वैदेशिक रोजगार नियमावली, २०६४ को नियम २८(क) मा यस्तो व्यवस्था गरिएको छ। सोही प्रावधानअनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका श्रमिकको शव विमानस्थलदेखि घरसम्म पुर्याउने सेवा उपलब्ध गराइँदै आएको छ।
बोर्डका अनुसार शव ढुवानीसम्बन्धी जानकारी तथा समन्वयका लागि सूचना अधिकारी एवं प्रवक्ता शारदा भण्डारी र सुरज ढुंगानालाई सम्पर्क गर्न सकिनेछ। त्यस्तै, शव ढुवानीका लागि सेती गणेश सप्लायर्स, आरडी ढुवानी सेवा र बुद्धध्वज ढुवानी सेवालाई सेवा प्रदायकका रूपमा तोकिएको छ।
चाडपर्वका समयमा पनि सेवा नियमित रहने जनाउँदै बोर्डले आवश्यक परेको अवस्थामा सम्बन्धित परिवारलाई तोकिएका सम्पर्क व्यक्तिमार्फत समन्वय गर्न आग्रह गरेको छ।
यससम्बन्धी थप जानकारी लिन वा आवश्यक सहयोगका लागि वैदेशिक रोजगार बोर्डको सचिवालयको निःशुल्क टोल फ्री नम्बर ११४१ मा सम्पर्क गर्न सकिनेछ।








Facebook Comments