
भक्तपुरको सूर्यविनायक नगरपालिकालाई बाल विवाहमुक्त, बालश्रममुक्त, सडक बालबालिकामुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ ।
सरकारले तयार पारेको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ ले तय गरेको ५१ सूचक पूरा गरेसँगै नगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले आज सूर्यविनायक नगरपालिका भवनको प्राङ्गणमा आयोजित कार्यक्रममा उक्त घोषणा समारोहको उद्घाटन गरेका हुन् ।
सूर्यविनायकले आफ्ना १० वटै वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने अभियान सुरु गरेको नगर कार्यालयले जनाएको छ ।
घोषणा गर्नका लागि पूरा गर्नुपर्ने सूचकहरूमध्ये बालविवाह, बालश्रम र हिंसा पूर्णरूपमा निषेधित हुनुपर्ने, सबै बालबालिकाको जन्मदर्ता, विद्यालय भर्ना र गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच सुनिश्चित हुनुपर्ने प्रावधान रहेको छ ।
बाल बचाउ शीर्षकमा पूरा गर्नुपर्ने १४ वटा सूचकहरू जस्तै गर्भवतीले सातपटक स्वास्थ्य जाँच गराएको हुनुपर्ने, टिटानस विरुद्धको खोप र आइरन चक्की खाएको हुनुपर्ने, दक्ष स्वास्थ्यकर्मीबाट सुरक्षित सुत्केरी गराएको हुनुपर्ने र बालबालिकालाई पूर्णखोप लगाइएको हुनुपर्ने सूचक निर्धारण गरिएको छ ।
बाल संरक्षणका १० वटा सूचकहरू बालविवाह पूर्णरूपमा निषेध हुनुपर्ने, बाल श्रममुक्त वडा हुनुपर्ने, बालबालिका विरुद्ध हुने शारीरिक, मानसिक वा यौनजन्य हिंसा र दुव्र्यवहार पूर्णरूपमा रोकिएको हुनुपर्ने, सडक बालबालिका वा बेवारिसे अवस्थामा रहेका बालबालिकाको संरक्षण र पुनःस्थापना भएको हुनुपर्ने व्यवस्था रहेको छ ।
बाल विकासका बारेमा छ वटा सूचकहरू जन्मिएका सबै बालबालिकाको जन्मदर्ता हुनुपर्ने, विद्यालय जाने उमेरका सबै बालबालिको विद्यालय भर्ना हुनुपर्ने, विद्यालय र समुदायमा बालमैत्री तथा लैङ्गिकमैत्री ९छात्राका लागि छुट्टै० शौचालय र स्वच्छ खानेपानीको व्यवस्था हुनुपर्ने, टोल, विद्यालय र वडास्तरमा बाल क्लब तथा बाल सञ्जाल गठन भई सक्रिय हुनुपर्ने स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा बालबालिकाको अर्थपूर्ण सहभागिता हुनुपर्ने व्यवस्था छ ।
बालबालिकाका क्षेत्रमा लक्षित बजेट व्यबस्था हुनुपर्ने, सबै कार्यालय बालमैत्री र अपाङ्गतामैत्री हुनुपर्ने, विपद् व्यवस्थापन योजनामा बालबालिकाको सुरक्षा र आवश्यकतालाई प्राथमिकता दिइएको हुनुपर्नेलगायतका ५१ वटा सूचकहरू निर्धारण गरिएको छ ।









Facebook Comments