काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार छनोट प्रक्रिया अघि बढाउँदै नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेको छ।

पार्टीका महामन्त्री विपिन आचार्यका अनुसार स्थानीय तहमा इमानदार, सक्षम र स्पष्ट योजनासहित काम गर्न इच्छुक व्यक्तिहरूलाई उम्मेदवार बन्ने प्रक्रियामा सहभागी गराउने उद्देश्यले आवेदन खुला गरिएको हो।

ad

नगरपालिकाको विकासका लागि अरूको प्रतीक्षा गर्नुभन्दा आफैँ मैदानमा उत्रिएर काम गर्ने इच्छाशक्ति आवश्यक रहेको उल्लेख गर्दै रास्वपाले नगरको रूपान्तरणमा सक्रिय भूमिका निर्वाह गर्न चाहने व्यक्तिहरूलाई अवसर प्रदान गर्न लागेको जनाएको छ।

पार्टीले स्थानीय निर्वाचनका लागि तयार पारेको उम्मेदवार छनोट रूपरेखाअन्तर्गत देशभरका २७६ नगरपालिकामा विभिन्न पदका लागि उम्मेदवार छनोट गर्नेछ।

रास्वपाका अनुसार नगरपालिकाका प्रमुख (मेयर) २७६ जना, उपप्रमुख (उपमेयर) २७६ जना, वडाध्यक्ष ३ हजार ११९ जना र वडा सदस्य १२ हजार ४७६ जनाका लागि उम्मेदवार छनोट गरिनेछ। यसरी नगरपालिकाको प्रमुखदेखि वडा सदस्यसम्मका कुल १६ हजार १४७ पदका लागि पार्टीको आधिकारिक उम्मेदवार छनोट प्रक्रिया अघि बढ्नेछ।

यस अभियानमार्फत स्थानीय तहको नेतृत्वदेखि वडा स्तरसम्म जनप्रतिनिधिका रूपमा काम गर्न इच्छुक व्यक्तिहरूलाई पार्टीको उम्मेदवार बन्ने प्रक्रियामा सहभागी हुने अवसर मिल्ने अपेक्षा गरिएको छ।

क्यान्डिडेट क्लबमा सहभागी हुन इच्छुक व्यक्तिहरूले रास्वपाको आधिकारिक मोबाइल एपमा लगइन गरेर आवेदन दिन सक्नेछन्।

महामन्त्री आचार्यले स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन चाहने व्यक्तिहरूलाई आवेदन दिन आह्वान गरेका छन्।

उनले भने, ‘आजबाट हामीले नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला गरेका छौँ। यदि तपाईं यसपटकको स्थानीय निर्वाचनमा आफ्नो नगरपालिकाको प्रमुख, उपप्रमुख, वडाध्यक्ष वा वडा सदस्यका रूपमा नेतृत्व लिन इच्छुक हुनुहुन्छ भने आवेदन दिनुहोला। आवेदन दिन पार्टीको आधिकारिक मोबाइल एपमा लगइन गर्नुहोला।’