काठमाडौं । धादिङको गलौँडीमा सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्ग आइतबार अपराह्नदेखि दुईतर्फी सञ्चालनमा आएको छ। सडकको भासिएको भागमा माथिल्लो क्षेत्र कटान गरेर आवागमन खुलाइएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीका अनुसार गजुरी गाउँपालिका–५ स्थित गलौँडीमा आइतबार दिउँसो ३ः१० बजेदेखि दुवैतर्फ सवारीसाधन सञ्चालन हुन थालेका हुन्।

ad

नदीले सडकको भाग कटान गरेपछि राजमार्गमा क्षति पुगेको थियो। शुक्रबार साँझ सडकको करिब एक सय मिटर खण्डमा चिरा परेको थियो भने करिब २० मिटर भाग भासिएको थियो। त्यसपछि उक्त सडकखण्डमा सवारी आवागमन रोकिएको थियो।

राजमार्ग अवरुद्ध हुँदा दसैँ मनाउन घरतर्फ हिँडेका यात्रु तथा पृथ्वी राजमार्ग हुँदै यात्रा गर्ने अन्य यात्रु प्रभावित भएका थिए।

भासिएको क्षेत्रमा आवश्यक कटान गरी सडक सञ्चालनमा ल्याइएपछि रोकिएका सवारीसाधनले पुनः दुवैतर्फ आवतजावत गर्न पाएका छन्।

पृथ्वी राजमार्ग राजधानी काठमाडौंलाई देशका विभिन्न जिल्ला तथा पश्चिमी क्षेत्रसँग जोड्ने प्रमुख सडक मार्ग हो। यस सडकमा हुने अवरोधले यात्रुका साथै मालवाहक सवारीसाधनको आवागमनमा समेत असर पार्ने गर्छ।