काठमाडौं । सशस्त्र प्रहरी बलका बर्खास्त एआईजी वंशीराज दाहालले आफूलाई सेवाबाट हटाउने सरकारको निर्णयपछि कानुनी परामर्श थालेका छन्। लामो सुरक्षा सेवाको अन्तिम चरणमा बर्खास्तीमा परेका दाहाल अब कानुनी रूपमा कसरी अघि बढ्ने भन्नेबारे छलफलमा जुटेका हुन्।

दाहाल निकट स्रोतका अनुसार उनले कानुनी परामर्श सुरु गरिसकेका छन्। ‘कानुनी परामर्श थाल्नुभएको भन्ने बुझिएको छ। अब कसरी अघि बढ्नुहुन्छ, त्यो उहाँकै कुरा हो,’ स्रोतले भन्यो।

ad

गृह मन्त्रालयले २३ गते जारी गरेको सूचनामार्फत दाहाललाई सेवाबाट हटाउने निर्णय सार्वजनिक गरेको थियो। मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेद्वारा हस्ताक्षरित विज्ञप्तिमा विभागीय कारबाहीस्वरूप उनलाई सेवाबाट बर्खास्त गरिएको उल्लेख छ। निर्णय २३ गतेदेखि नै लागू हुने गरी गरिएको हो।

संवेदनशील सूचना चुहाएको आरोपमा कारबाही
संवेदनशील सूचना चुहाएर आचरणविपरीत काम गरेको आरोपमा सरकारले गत १९ असोजमा दाहाललाई निलम्बन गरेको थियो। त्यसपछि विभागीय प्रक्रिया अघि बढाउँदै उनलाई सेवाबाट हटाइएको हो।

यद्यपि, उनले कुन सूचना चुहाएको भन्ने विषय बर्खास्तीसम्बन्धी सार्वजनिक विज्ञप्तिमा खुलाइएको छैन। सशस्त्र प्रहरी तथा नेपाल प्रहरीको इतिहासमा सूचना चुहावटको आरोपमा एआईजी तहका अधिकारी बर्खास्त भएको यो पहिलो घटना भएको सुरक्षा क्षेत्रका जानकारहरूको भनाइ छ।

बर्खास्त हुनुअघि दाहाल सशस्त्र प्रहरी बलको सीमा विभाग प्रमुखका रूपमा कार्यरत थिए। उनी २८ गते अवकाशमा जाने तयारीमा थिए। सेवाअवधि थप गर्न सकिने व्यवस्थाअनुसार उनको म्याद थपका लागि सिफारिससमेत भएको बताइएको थियो।

तर, अवकाशको केही दिनअघि नै उनी कारबाहीमा परे। विवादित व्यक्तिहरूसँगको सम्पर्क, पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको भेट र संवेदनशील सूचना चुहाएको आरोपलाई यस घटनासँग जोडेर हेरिएको छ।

चोलेन्द्रलाई भेट्न प्रहरी कार्यालय पुगेपछि चर्चा
गत १० असोजको मध्यराति प्रहरीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई उनको निवासबाट नियन्त्रणमा लिएको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ११ असोजको बिहान करिब २ बजे उनलाई कार्यालय पुर्‍याएको थियो।

त्यसको करिब एक घण्टापछि एआईजी दाहाल चोलेन्द्रलाई भेट्न टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेका थिए। जबरा करिब १२ घण्टासम्म प्रहरी कार्यालयमा रहेका बेला उनको मोबाइलका गतिविधि तथा सन्देशसमेत अनुसन्धानका क्रममा हेरिएको बताइएको छ।

चोलेन्द्रसँगको भेटघाट र विभिन्न व्यक्तिसँगको सम्पर्कलाई लिएर सुरक्षा निकायभित्र प्रश्न उठेको स्रोतहरूको दाबी छ। सम्पत्ति शुद्धीकरण, बीमा, धितोपत्र तथा बैंकिङ कसुरका मुद्दामा अनुसन्धान वा कानुनी प्रक्रियामा रहेका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालसँग सम्बन्धित विषयमा चलखेलको आशंकासमेत अनुसन्धानको दायरामा आएको बताइएको छ।

यद्यपि, यी विषयमा सम्बन्धित व्यक्तिहरूको संलग्नता वा आरोपको पुष्टि गर्ने आधिकारिक विवरण सार्वजनिक भइसकेको छैन।

इनम सापकोटासँगको सम्पर्कमाथि अनुसन्धान
चोलेन्द्रको मोबाइलमा रहेका विवरण तथा सन्देशको अनुसन्धान गर्ने क्रममा इनम सापकोटा नामका व्यक्तिको सम्बन्धसमेत खुलेको स्रोतको दाबी छ।

नेपाल प्रहरीको विशेष ब्युरोले दिल्ली जान लागेका बेला इनमलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको बताइएको छ। उनलाई एक दिनसम्म राखेर अनुसन्धान गरिएको र त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा राखिएको स्रोतको भनाइ छ। उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको बताइएको छ।

अनुसन्धानसँग परिचित स्रोतहरूका अनुसार इनमको पूर्वप्रधानन्यायाधीश चोलेन्द्र, एआईजी दाहाल र केही अन्य सुरक्षा अधिकारीसँग सम्पर्क देखिएको छ। यही सम्पर्कका आधारमा दाहालमाथि समेत अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढेको दाबी गरिएको छ।

स्रोतका अनुसार इनमको मोबाइल परीक्षण गर्दा महत्वपूर्ण विवरण फेला परेका थिए। दाहाल र इनमबीच प्रधानमन्त्री बालेन शाहका गतिविधिसम्बन्धी सूचना आदानप्रदान भएको दाबीसमेत गरिएको छ। ‘प्रधानमन्त्रीज्यूकै सूचनाको आदानप्रदान भएकोसमेत देखिएको छ,’ स्रोतले भन्यो।

तर, प्रधानमन्त्रीका गतिविधिसम्बन्धी कस्तो सूचना आदानप्रदान भएको थियो, त्यसको प्रमाण के हो र दाहालमाथि लगाइएको सूचना चुहावटको आरोपसँग त्यसको सम्बन्ध कसरी स्थापित हुन्छ भन्ने विषय सार्वजनिक रूपमा स्पष्ट भइसकेको छैन।

दाहालको बर्खास्तीपछि अब उनले कानुनी उपचार खोज्छन् वा सरकारको निर्णयलाई अन्य प्रक्रियाबाट चुनौती दिन्छन् भन्ने चासो बढेको छ। उनले थालेको कानुनी परामर्शले आगामी कदमबारे संकेत गर्ने भए पनि यस विषयमा दाहालको औपचारिक धारणा सार्वजनिक भएको छैन।