काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले विवादित अडियो संवादमा आफ्नो संलग्नता अस्वीकार गर्दै पार्टीको अनुशासन आयोगसमक्ष लिखित जवाफ पेस गरेका छन्।

सुनार र एक महिलाबीच भएको भनिएको संवाद सार्वजनिक भएपछि पार्टीले गठन गरेको छानबिन समितिलाई उनले अडियोमा सुनिएको आवाज आफ्नो नभएको दाबी गरेका हुन्।

ad

अनुशासन समितिका उपप्रमुख तथा छानबिन समितिका संयोजक अधिवक्ता हरिचन्द्र भट्टराईका अनुसार सुनारले लिखित रूपमा आफ्नो धारणा पेस गर्दै सार्वजनिक अडियोमा रहेको आवाज अस्वीकार गरेका छन्। उनको लिखित जवाफमा सामाजिक सञ्जालमार्फत यसअघि सार्वजनिक गरेका दाबीहरू पनि समेटिएको भट्टराईले बताएका छन्।

सुनारले आरोप अस्वीकार गरेपछि समितिले घटनासँग सम्बन्धित स्वतन्त्र प्रमाण संकलन तथा अडियोको सत्यता परीक्षण गर्ने प्रक्रिया अघि बढाएको छ।

अडियो एआईबाट बनाइएको सुनारको दाबी
विवादित अडियो सार्वजनिक भएपछि सांसद सुनारले त्यसलाई कृत्रिम बुद्धिमत्ता (एआई) लगायत प्रविधिको प्रयोग गरी तयार पारिएको सामग्री भएको दाबी गरेका थिए। प्रहरीमा भएको भ्रष्टाचारको विषय उठाएपछि आफूलाई निरन्तर निशाना बनाइएको उनको जिकिर छ।

उनले सामाजिक सञ्जालमा सार्वजनिक आरोपहरू असत्य रहेको र प्रविधिको दुरुपयोग गरेर आफ्नो छवि बिगार्ने प्रयास भएको दाबीसमेत गरेका थिए।

यद्यपि, अडियोको वास्तविकता र त्यसमा सुनिएको आवाजको पहिचानबारे छानबिन समितिको अन्तिम निष्कर्ष सार्वजनिक भइसकेको छैन।

अडियोको प्राविधिक परीक्षण गर्ने तयारी
छानबिन समितिले अडियो सार्वजनिक गरेको जनआस्था पत्रिकाबाट सम्पादन हुनुअघिको रेकर्डिङ प्राप्त गरेको जनाएको छ। त्यस्तै, घटनामा पीडित भनिएकी महिलाको अन्तर्वार्ताको अडियो उपलब्ध गराउन न्युज २४ लाई पत्राचार गरिएको छ।

समितिका संयोजक भट्टराईका अनुसार प्राप्त अडियोको आन्तरिक परीक्षण गरिनेछ। त्यस क्रममा आवश्यक देखिए सम्बन्धित निकायको सहयोग लिएर प्राविधिक परीक्षणसमेत गराइनेछ।

अडियोको प्राविधिक परीक्षणपछि सुनारलाई बोलाएर सोधपुछ गर्ने समितिको तयारी छ। परीक्षणमा लाग्ने समयका आधारमा थप अनुसन्धानको अवधि निर्धारण हुने भट्टराईले बताएका छन्।

सुनारको लिखित इन्कारी र प्रसारित अन्तर्वार्तामा व्यक्त विचारले छानबिनलाई थप जटिल बनाएको समितिको भनाइ छ। त्यसैले निष्कर्षमा पुग्नुअघि उपलब्ध सामग्रीको विश्वसनीयता परीक्षण गर्नुपर्ने देखिएको छ।

छानबिन नसकिँदासम्म औपचारिक कार्यक्रममा सहभागी हुन रोक
विवादित अडियो सार्वजनिक भएपछि रास्वपाले घटनाबारे चासो देखाउँदै सांसद सुनारमाथि आन्तरिक छानबिन गर्न पार्टीको अनुशासन आयोगलाई निर्देशन दिएको थियो।

छानबिन निष्कर्षमा नपुग्दासम्म सुनारलाई सार्वजनिक पदको हैसियतमा औपचारिक कार्यक्रममा सहभागी नहुन पनि निर्देशन दिइएको थियो।

हाल समितिले अडियोको स्रोत, त्यसको प्रामाणिकता र सम्बन्धित पक्षका भनाइलाई आधार बनाएर अनुसन्धान अघि बढाइरहेको छ। अडियोमा सुनिएको आवाज सुनारकै हो वा होइन भन्ने विषय भने प्राविधिक परीक्षण र थप अनुसन्धानपछि मात्र स्पष्ट हुने देखिन्छ।

छानबिन समितिको अन्तिम प्रतिवेदन सार्वजनिक नभएसम्म यस प्रकरणमा लगाइएका आरोप र सांसद सुनारले गरेका इन्कारीलाई स्थापित तथ्यका रूपमा लिन सकिने अवस्था छैन।