भक्तपुर । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसर पारेर आइतबार भक्तपुरस्थित प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना गरेका छन्। राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित मन्दिर पुगेर नवदुर्गा भवानीको दर्शन गरेका हुन्।

मन्दिर परिसरमा पुगेका राष्ट्रपति पौडेललाई मन्दिर व्यवस्थापन समितिका पदाधिकारी, भक्तपुर जिल्ला सुरक्षा समितिका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीयवासीले स्वागत गरेका थिए। सो अवसरमा दसैँको परम्पराअनुसार पूजाका क्रममा प्रस्तुत गरिने परम्परागत नृत्यसमेत देखाइएको थियो।

ad

राष्ट्रपति पौडेलले नवदुर्गा देवगणका मूर्तिहरूको अवलोकन गर्दै दर्शन गरे। उनले नवदुर्गाका पुजारी, नाइके तथा देवगणलाई दक्षिणासमेत प्रदान गरेका थिए।

भक्तपुरको नवदुर्गा मन्दिरमा ब्रह्मायणी, महेश्वरी, कुमारी, वैष्णवी, वाराही, महाकाली, महालक्ष्मी, त्रिपुरासुन्दरी र भद्रकाली गरी नौ देवीको पूजा गर्ने परम्परा छ। यहाँको नवदुर्गा परम्परा भक्तपुरको धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको छ।

पूजाका क्रममा राष्ट्रपति पौडेललाई तलेजु मन्दिरबाट ल्याइएको टीका तथा प्रसाद मन्दिरका मूल नाइकेले प्रदान गरेका थिए।

दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमामा राष्ट्रप्रमुखले भक्तपुरस्थित नवदुर्गा भगवतीको दर्शन तथा पूजाअर्चना गर्ने परम्परा रहिआएको छ। यस अवसरमा गरिने पूजाले भक्तपुरको मौलिक धार्मिक संस्कृति र परम्परालाई निरन्तरता दिँदै आएको छ।