काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद वदन भण्डारीले भारतको नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएको मन्तव्यलाई लिएर अनावश्यक टिप्पणी गर्न आवश्यक नरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै सांसद भण्डारीले भारतको विरोध गरेर नेपालमा राष्ट्रवादी बन्ने प्रवृत्ति अब समाप्त भइसकेको भन्ने अर्थमन्त्री वाग्लेको अभिव्यक्ति सुझबुझपूर्ण रहेको धारणा राखे ।

ad

उनले वाग्लेको अभिव्यक्तिलाई अनावश्यक विवादको विषय बनाउन नहुनेमा जोड दिए । अर्थमन्त्रीले व्यक्त गरेको विचारलाई अनावश्यक रूपमा टीकाटिप्पणी गर्नुभन्दा त्यसको आशय बुझ्नुपर्ने उनको भनाइ थियो ।

कार्यक्रममा सांसद भण्डारीले सरकारका आगामी प्राथमिकताबारे पनि धारणा राखे । सरकारको कार्यकाल छ महिना पार भइसकेको उल्लेख गर्दै उनले अहिलेको प्रमुख चुनौती महँगी नियन्त्रण गर्नु रहेको बताए ।

महँगीले सर्वसाधारणको जनजीवनमा पार्ने प्रभावलाई ध्यानमा राखेर सरकारले यसलाई नियन्त्रण गर्न विशेष पहल गर्नुपर्ने उनको भनाइ थियो । त्यसका लागि सरकारले ठोस कदम चाल्नुपर्नेमा उनले जोड दिए ।

सांसद भण्डारीले वर्तमान सरकारको पाँचवर्षे कार्यकाल रहेको उल्लेख गर्दै उक्त अवधिमा जनताका अपेक्षा पूरा गर्ने दाबीसमेत गरे । पाँच वर्षभित्र जनअपेक्षाअनुसार काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्दै उनले सरकार आफ्नो जिम्मेवारी पूरा गर्न लागिपर्ने बताए ।