काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङमा फसेका तथा बेपत्ता व्यक्तिको खोजी कार्य सबै सुरुङको अवस्था स्पष्ट नभएसम्म जारी रहने नेपाली सेनाले जनाएको छ। बाढीपछि पहाडी क्षेत्रमा नयाँ हिमताल बन्न सक्ने र पहिरोको जोखिमसमेत कायम रहेकाले सुरक्षा सतर्कता बढाइएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली सेनाको त्रिशूलीस्थित ट्याक्टिकल हेडक्वार्टरबाट खोज तथा उद्धार अभियानको नेतृत्व गरिरहेका सहायक रथी सुवासजंग थापाले सबै टनेल ‘ब्रेक थ्रु’ नभएसम्म खोजी नरोकिने बताए।

ad

उनका अनुसार सरकारले खोजी आवश्यक नरहेको निर्णय गरेमा मात्र अभियान रोकिनेछ। अन्यथा प्रभावित आयोजनाका सुरुङभित्र सम्भावित रूपमा रहेका व्यक्तिको अवस्थाबारे यकिन नभएसम्म उद्धार जारी राखिनेछ।

नयाँ हिमताल बन्ने खतरा
भदौ १० गतेको बाढीपछि हिमाली क्षेत्रमा पहिरो तथा हिमतालको अवस्थाबारे चिनियाँ दूतावासबाट प्राप्त विवरणका आधारमा सुरक्षा निकायले जोखिमको निगरानी गरिरहेको छ।

सहायक रथी थापाका अनुसार भदौ १० गतेको पहिरोका कारण बनेका हिमताल हाल सामान्य अवस्थामा देखिए पनि थप नयाँ ताल बन्ने सम्भावना भने समाप्त भएको छैन। पहाडी क्षेत्रमा पर्याप्त मात्रामा चिरा देखिएकाले जोखिम कायम रहेको उनले बताए।

उनका अनुसार लाङटाङ हिमालबाट हिमपहिरो खसेपछि भोटेकोशीमा ठूलो बाढी आएको थियो। यसअघि २०७२ सालमा पनि सोही क्षेत्रबाट दक्षिणतर्फ पहिरो खस्दा घोडातबेला र लाङटाङ क्षेत्रमा असर परेको थियो।

भोटेकोशी हुँदै त्रिशूलीमा आएको ठूलो बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन र नवलपरासी पूर्वसम्म जनधनमा ठूलो क्षति पुर्‍याएको सेनाले जनाएको छ।

विशेषगरी टिमुरे, स्याफ्रुबेसी, बेत्रावती र त्रिशूलीलगायत नदी किनारका बस्ती तथा जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको थापाले बताए।

त्रिशूलीमा ट्याक्टिकल हेडक्वार्टर
बाढी आएलगत्तै नेपाली सेनाले त्रिशूलीमा ट्याक्टिकल हेडक्वार्टर स्थापना गरेर खोज तथा उद्धार अभियान अघि बढाएको थियो। सेनाको हेडक्वार्टर एक उपरथीको नेतृत्वमा सञ्चालन भइरहेको छ भने नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले पनि डीआईजीको नेतृत्वमा छुट्टाछुट्टै ट्याक्टिकल हेडक्वार्टर स्थापना गरेका छन्।

रसुवाको धुन्चेमा सहायक रथीको नेतृत्वमा फर्वार्ड हेडक्वार्टरसमेत स्थापना गरिएको छ। उक्त कार्यालयले प्रभावित क्षेत्रमा उद्धार तथा खोजीका लागि आवश्यक समन्वय र सहजीकरण गर्दै आएको सेनाले जनाएको छ।

जलविद्युत् आयोजनाका सुरुङमा नेपाली सेनाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालित छन्। सेनाको इन्जिनियरिङ टोलीले क्षतिग्रस्त पुल निर्माण तथा अवरुद्ध सडक खोल्ने कामसमेत गरिरहेको छ।

त्यस्तै मुख्य बस्तीबाट सम्पर्क टुटेका तथा एकान्त क्षेत्रमा रहेका नागरिकको खोजी र उद्धार पनि संयुक्त सुरक्षा टोलीले गरिरहेको छ।

११ जलविद्युत् आयोजनामा क्षति
भोटेकोशीदेखि मुग्लिनसम्म करिब ११ वटा जलविद्युत् आयोजना प्रभावित भएको सेनाले जनाएको छ। बाढीका कारण ती आयोजनाका संरचना तथा सुरुङमा ठूलो क्षति पुगेको छ।

भदौ १० गते बिहान ८:४० देखि ८:४७ बजेको बीचमा आएको बाढीले रसुवागढी–केरुङ नाकास्थित चिनियाँ अध्यागमन क्षेत्रमा समेत क्षति पुर्‍याएको थियो।

बिहान ९ बजे अध्यागमन खुल्ने समय भएकाले नेपाल र चीनतर्फका ड्राइपोर्टमा त्यतिबेला मानिसको चाप रहेको थियो। मानसरोवर जाने यात्रु, व्यापारिक गतिविधिमा संलग्न व्यक्ति तथा जलविद्युत् आयोजनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका मानिस पनि त्यस क्षेत्रमा रहेको सेनाले जनाएको छ।

नाकाभन्दा केही तल रहेको टिमुरेमा पनि ठूलो संख्यामा मानिस थिए। पर्यटकीय केन्द्र भएकाले त्यहाँका होटल तथा घरमा पर्यटक र अन्य यात्रु बसेका थिए।

भोटेकोशी हाइड्रोमा १६ जना
बाढी आउँदा भोटेकोशी जलविद्युत् आयोजनामा १६ जना रहेको प्रारम्भिक जानकारी सेनाले पाएको थियो। तीमध्ये तीन जना सञ्चालनका लागि सुरुङभित्र र दुई जना सरसफाइको काममा रहेका थिए। बाँकी कर्मचारी तथा कामदार आवास क्षेत्रमा रहेको बताइएको छ।

बाढीपछि सतहमा देखिएका व्यक्तिको तत्काल उद्धार गरिएको थियो। सेनाले इन्फ्रारेड र थर्मल इमेजिङ क्षमताका ड्रोन प्रयोग गरी प्रभावित क्षेत्रको निगरानीसमेत गरेको थियो।

तर थर्मल इमेजिङबाट जमिनमुनिको अवस्था पूर्ण रूपमा देख्न नसकिने भएकाले सम्भावित प्रभावित स्थानको अभिलेख राख्दै अन्य माध्यमबाट खोजी अघि बढाइएको सेनाले जनाएको छ। यही क्रममा बेत्रावतीबाट ६४ वर्षीया महिलाको उद्धार गरिएको थापाले जानकारी दिए।

रसुवागढीमा ठूला उपकरण लैजान समस्या
रसुवागढी जलविद्युत् आयोजनामा उद्धारका लागि आवश्यक ठूला उपकरण पुर्‍याउन प्राविधिक कठिनाइ देखिएको छ। सेनाका अनुसार त्यहाँ स्काभेटर झार्न सकिएको छैन।

एमआई–१७ हेलिकप्टर अवतरण गर्न पर्याप्त ठाउँ नभएकाले ठूला मेसिन तथा उपकरण लैजान कठिन भएको हो। यसले सुरुङभित्रको लेदो तथा अन्य अवरोध हटाउने कामलाई थप चुनौतीपूर्ण बनाएको सेनाले जनाएको छ।

लाङटाङमा सुरुङ काटेर उद्धार
लाङटाङ जलविद्युत् आयोजनामा सेनाले बाढी आएको दिन नै हवाई निरीक्षण गरेको थियो। भदौ १३ गतेदेखि भारतीय विशेषज्ञ टोलीको सहयोगमा सुरुङभित्र खोजी थालिएको थियो।

सुरुङको भित्री भागमा काम गर्ने क्रममा आवश्यक परे सुरुङ नै काटेर प्रवेश गर्नुपर्ने अवस्था देखिएको थियो। सुरुङ मर्मतका लागि भित्र करिब छ जना हुन सक्ने सूचना पाएपछि उद्धार टोलीले प्रवेश बिन्दु बनाएर खोजी गरेको थियो।

खोजीका क्रममा एउटा शव भेटिएपछि उद्धार गरिएको र सुरुङभित्रको खोजी अझै जारी रहेको सेनाले जनाएको छ।

चिलिमेमा ११० मिटरभित्र पुग्यो टोली
चिलिमे जलविद्युत् आयोजनामा पनि सेनाले भदौ १० गते नै रेकी गरेको थियो। भारतीय विशेषज्ञ टोलीको समेत सहभागितामा भदौ १४ गतेदेखि खोज तथा उद्धार सुरु गरिएको हो।

चिलिमेबाट दुईवटा शव निकालिएको छ। ती शव बाढीले बाहिरी क्षेत्रबाट सुरुङभित्र पुर्‍याएको हुन सक्ने सेनाको अनुमान छ।

खोजी टोली सुरुङभित्र करिब ११० मिटरसम्म पुगेको र काम अझै जारी रहेको थापाले जानकारी दिए।

माथिल्लो त्रिशूली–१ मा जीवितै उद्धार
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा तुलनात्मक रूपमा धेरै कामदार तथा कर्मचारी कार्यरत थिए। आयोजनामा नेपाली र भारतीय कामदारसमेत रहेको सेनाले जनाएको छ।

बाढी आएको दिन नै सेनाले आयोजनाको हवाई निरीक्षण गरेको थियो। चिनियाँ विशेषज्ञ टोलीको सहभागितामा भदौ १४ गतेदेखि सुरुङभित्र खोज तथा उद्धार सुरु गरिएको हो।

खोजीका क्रममा सुरुङको करिब २०० मिटर अगाडि एउटा शव भेटिएको थियो। लगातार ११ दिनको प्रयासपछि एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गर्न टोली सफल भएको सेनाले जनाएको छ। सोही आयोजनाबाट दुईवटा शवसमेत फेला परेका छन्।

त्रिशूली–३ ‘ए’ बाट दुई कर्मचारीको उद्धार
त्रिशूली–३ ‘ए’ सञ्चालनमा रहेको जलविद्युत् आयोजना हो। बाढी आउँदा त्यहाँ ४६ जना फसेको सूचना सेनाले पाएको थियो।

आयोजनामा आवश्यक सामग्री तथा उपकरण लैजान तुलनात्मक रूपमा सहज भएकाले चारवटा स्काभेटर प्रयोग गरिएको छ। बाढी आएको १०औँ दिनमा दुई कर्मचारीलाई जीवितै उद्धार गरिएको र एउटा शव फेला परेको सेनाले जनाएको छ।

त्रिशूली–३ ‘बी’ मा ९० जनाको टोली
त्रिशूली–३ ‘बी’ आयोजनामा पनि सेनाले बाढी आएको दिन भदौ १० गते नै रेकी गरेको थियो। अहिले करिब ९० जनाको खोज तथा उद्धार टोली त्यहाँ परिचालित रहेको जानकारी दिइएको छ।

सुरुङभित्र मानिस फसेको हुन सक्ने सम्भावना रहेकाले विभिन्न आयोजनामा चरणबद्ध रूपमा खोजी भइरहेको सेनाले जनाएको छ।

९०० जना फसेको अनुमानप्रति सेनाको फरक आकलन
विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा करिब ९०० जना मानिस फसेको हुन सक्ने अनुमान सार्वजनिक हुँदै आए पनि नेपाली सेनाले यो संख्या धेरै हुन सक्ने दाबीलाई पुष्टि गरेको छैन।

सहायक रथी थापाका अनुसार उपलब्ध सूचना र स्थलगत विवरणका आधारमा सुरुङभित्र रहेका व्यक्तिको संख्या करिब १२१ हुन सक्ने आकलन गरिएको छ।

यद्यपि सबै सुरुङको पूर्ण रूपमा खोजी तथा ‘ब्रेक थ्रु’ नभएसम्म वास्तविक अवस्था यकिन गर्न नसकिने सेनाले जनाएको छ। त्यसैले सुरुङ उद्धारलाई निरन्तरता दिँदै सम्भावित जोखिमयुक्त क्षेत्रको निगरानीसमेत समानान्तर रूपमा अघि बढाइएको छ।