रसुवा । भोटेकोशीमा आएको विनाशकारी बाढी र लेदोसहितको पहिरोबाट चिलिमे जलविद्युत आयोजनाका कर्मचारीहरू केही मिनेटको फरकले जोगिएका छन्। तर, आयोजनाको भूमिगत पावर हाउस र प्रवेशद्वारमा ड्युटीमा रहेका ६ जना कर्मचारी भने बाढीपछि सम्पर्कविहीन छन्।

चिलिमे आयोजनाको प्रशासनमा वरिष्ठ सहायकका रूपमा कार्यरत कमलबहादुर खरेलका अनुसार घटना बुधबार बिहान पौने ९ बजेतिर भएको हो। त्यसबेला आयोजना परिसरमा रहेका कर्मचारीहरू नियमित ड्युटीमा जाने तयारीमा थिए।

ad

अचानक भोटेकोशीको बहाव अस्वाभाविक रूपमा बढ्यो। पानीसँगै ठूलो परिमाणमा लेदो र ढुंगा तीव्र गतिमा तलतिर आउन थाले। जमिनसमेत भूकम्प आएजसरी हल्लिएपछि कर्मचारीहरू केहीबेर आत्तिएका थिए।

‘बाहिर निस्केर हेर्दा लेदो र धुवाँको मुस्लोजस्तो देखिन्थ्यो। अनौठो गन्ध पनि आइरहेको थियो,’ खरेलले सम्झिए, ‘जमिन पनि नराम्ररी हल्लिएको थियो। के हुन लागेको हो भनेर हामी केहीबेर त अकमक्क पर्‍यौँ।’

आँखैअगाडि लेदोले तल बजार क्षेत्रका घरहरू पुर्‍याउन र कतिपय संरचना बगाउन थालेपछि चिलिमे क्याम्पमा रहेका कर्मचारीले तत्काल सुरक्षित स्थानतर्फ जाने निर्णय गरे।

क्याम्प नजिकै रहेको नेपाली सेनाको शिविरबाट पनि सुरक्षाकर्मीहरू उकालो लाग्न थाले। चिलिमेका करिब २० देखि २५ कर्मचारी उनीहरूसँगै डाँडातर्फ भागे।

बाढीको अवस्था भयावह बन्दै गएपछि आयोजनाका केन्द्र प्रमुख मनिष विष्टले पावर हाउसमा रहेका कर्मचारीसँग सम्पर्क गर्ने प्रयास गरे। तर, त्यतिबेला विद्युत् र मोबाइल नेटवर्क दुवै अवरुद्ध भइसकेका थिए।

‘हामीले धेरै पटक फोन गर्‍यौँ, तर नेटवर्क नै गएछ। पावर हाउसमा रहेका साथीलाई बाढी आयो भनेर खबर गर्नसमेत सकेनौँ,’ खरेलले बताए।

पावर हाउस करिब डेढ किलोमिटर तल भएकाले तत्काल त्यहाँ पुगेर जानकारी दिन पनि सम्भव थिएन। त्यहाँ जाँदा आफूहरू पनि बाढीको चपेटामा पर्ने जोखिम थियो। त्यसैले कर्मचारीहरू ज्यान जोगाउन उकालो लागे।

करिब पाँचदेखि सात मिनेटमा डाँडाको माथिल्लो भागमा पुगेपछि उनीहरूले पछाडि फर्केर हेर्दा चिलिमे क्याम्प र कार्यालय क्षेत्रको अवस्था नै बदलिइसकेको थियो।

‘हामी बस्ने ठाउँ र कार्यालय केही पनि देखिएन। कसरी बगायो भन्ने प्रत्यक्ष देख्न पाएनौँ। केही मिनेटकै फरकले हामी बाँचेका रहेछौँ,’ खरेलले भने।

उनीहरू दिनभरि सुरक्षित डाँडामै बसे। राति नेपाली सेनाले उद्धार गरेर धुन्चे पुर्‍याएपछि त्यहीँ रात बिताए। भोलिपल्ट खरेल हेलिकप्टरमार्फत काठमाडौं पुगे।

खरेलका अनुसार बाढी आउँदा भूमिगत पावर हाउसमा चार जना कर्मचारी ड्युटीमा थिए। आयोजनाको बाहिरी गेटमा सुरक्षा जिम्मेवारीमा रहेका दुई जना पनि सम्पर्कविहीन छन्।

‘पावर हाउसमा चार जना र बाहिर गेटमा दुई जना थिए। बाढीपछि कसैसँग सम्पर्क भएको छैन,’ उनले भने।

पावर हाउसमा रहेका कर्मचारी बाहिर निस्कन सक्ने अवस्थामा नरहेको उनको भनाइ छ। विद्युत् उत्पादन बन्द भए पनि आवश्यक पर्दा आयोजना पुनः सञ्चालन गर्नुपर्ने भएकाले कर्मचारीहरू ड्युटीमै बस्नुपर्ने व्यवस्था थियो।

‘ग्रिड काटिएपछि उत्पादन बन्द थियो। तर पावर हाउसमा ड्युटीमा बसेका कर्मचारीले ठाउँ छाड्न मिल्दैनथ्यो,’ खरेलले बताए।

आयोजनासँग सम्बन्धित एक स्थानीय कर्मचारीसमेत सम्पर्कविहीन रहेको उनले बताए। उनी भने घटनाको दिन बिदामा रहेकाले आयोजनास्थलमा थिएनन्।

२०५३ सालदेखि चिलिमे आयोजनासँग जोडिएका खरेलले यसअघि पनि ठूलो बाढी र लेदो देखेका थिए। तर, पछिल्लो घटनाजस्तो विनाशकारी अवस्था भने आफ्नो अनुभवमा पहिलोपटक देखेको उनको भनाइ छ।

उनका अनुसार करिब दुई दशकअघि पनि ठूलो लेदोसहितको बाढी आएको थियो। त्यतिबेला रसुवा–चीन जोड्ने पुल तथा थुप्रै सवारीसाधन बगेका थिए भने चिलिमे पावर हाउसमा समेत लेदो पसेको थियो। सफाइपछि आयोजना पुनः सञ्चालनमा ल्याइएको थियो। यसपटक भने क्षति निकै ठूलो भएको उनले बताए।

चिलिमे नेपाल विद्युत् प्राधिकरणको आयोजना हो। बाढी आएको एक सातासम्म पनि भूमिगत संरचनामा फसेको आशंका गरिएका कर्मचारीको अवस्था पत्ता लाग्न सकेको छैन।

चिलिमे जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार सुरुङभित्र कर्मचारी फसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ। तर, आवश्यक उपकरणको अभावका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ।

नेपाली सेनाले विदेशी विज्ञसहितको संयुक्त उद्धार टोली परिचालन गरेर आयोजनास्थलमा खोज तथा उद्धार जारी राखेको जनाएको छ।