
गोरखा । ७५ वर्षीय दाताराम देवकोटाका लागि भदौ १० गतेको बिहान सामान्य थिएन। गोसाईँकुण्ड तीर्थयात्रामा जाने तयारीमा रहेका उनी अन्तिम समयमा बस छुट्दा निराश भएका थिए। तर, केही घण्टापछि त्यही बस बाढीमा बगेको खबर सुन्दा उनको मनमा एउटै कुरा आयो– ‘मलाई भगवान्ले नै जोगाउनुभएको रहेछ।’
पालुङटारबाट गोसाईँकुण्ड जाने टोलीमा देवकोटाको नाम अघिल्लो दिन मात्रै तय भएको थियो। यात्राका लागि बिहान ४ बजे भेला भएर ५ बजे प्रस्थान गर्ने जानकारी पाएपछि उनले राति अबेरसम्म यात्राको तयारी गरे। सामान मिलाउँदा रातको १ बजिसकेको थियो। केहीबेर आराम गरेपछि बाहिर होहल्ला सुनेर उनी बरन्डामा निस्किए। बाहिर हेर्दा बस घरनजिकै आइसकेको रहेछ। घडी हेर्दा बिहान ३ बजिसकेको थियो।
‘यति चाँडै किन आएको भनेर कराएँ। घरअगाडि आएको गाडी रोक्न खोजेँ, तर रोकिएन,’ देवकोटाले सम्झिए, ‘महादेवटारमा गएर मात्रै बस रोकियो।’ बस रोकिएपछि उनी पनि यात्रा गर्न पोका–पन्तुरा बोकेर त्यतैतिर लागे। तर, बसमा चढ्नुअघि उनलाई पानीको बोतल चाहिएको सम्झना भयो। उनी फेरि भान्सामा पसे।
‘पानीको बोतल लिन भान्सामा छिरेँ। केही समय लाग्यो। बोतल लिएर बाहिर निस्कँदा बस हिँडिसकेको रहेछ,’ उनले भने।त्यो क्षण उनलाई बस छुटेकोमा निकै दुःख लाग्यो। गोसाईँकुण्ड जाने अवसर गुमेकोमा उनी दिनभरि खिन्न रहे। घर फर्किएर सामान थन्क्याए र केहीबेर आराम गरे।
तर, केही घण्टामै परिस्थिति अर्कै भयो। बिहानको खाना खाइसकेपछि गाउँमा बस बाढीले बगाएको खबर फैलियो। आफूलाई छाडेर गएको त्यही बस विपद्मा परेको थाहा पाएपछि देवकोटाको मनमा अघिल्लो क्षणको दुःखको ठाउँ राहतले लियो। ‘पहिला बस छुट्यो भनेर दुःख लागेको थियो। बस बगाएको खबर सुनेपछि त धन्न बाँचेछु भन्ने भयो,’ उनले सुनाए।
देवकोटाका अनुसार उनका छोराबुहारी पनि सोही यात्रामा जाने तयारीमा थिए। उनीहरू पनि अन्तिम समयमा गएनन्। बस छुट्नु उनका लागि संयोग थियो, तर अहिले उनी त्यसलाई संयोग मात्रै मान्न तयार छैनन्। ‘भगवान्ले जोगाउनलाई नै मेरो बाटो छेकेका रहेछन्,’ देवकोटा भन्छन्।
आफू जोगिएकोमा राहत महसुस गरे पनि सोही घटनामा गाउँका ३२ जनाले ज्यान गुमाएको खबरले उनी गहिरो दुःखमा छन्। बससँगै बगेका आफन्त र गाउँलेको शोकमा नौखोर गाउँ अहिले पनि स्तब्ध छ। एक बोतल पानी लिन भान्सामा पसेको केही मिनेटले देवकोटाको जीवनको बाटो बदलिदियो—जाने बस छुट्यो, तर जीवन बाँकी रह्यो।








Facebook Comments