
काठमाडौं । अभिनेता राजेश हमालले अस्ट्रेलियामा आयोजित फ्यान भेटघाट कार्यक्रमबाट संकलित २१ लाख रुपैयाँ भोटेकोशी बाढी प्रभावितको सहयोगका लागि प्रदान गरेका छन्।
हमालका अनुसार क्यानबेरामा सोमबार आयोजना गरिएको ‘मिट एन्ड ग्रीट’ कार्यक्रमबाट संकलित उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।
बाढीबाट प्रभावित नागरिकको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले फ्यान भेटघाट कार्यक्रमबाट प्राप्त रकम सरकारी उद्धार कोषमा उपलब्ध गराइएको हमालले बताएका छन्।
हमाल हाल अस्ट्रेलियामा छन्। उनको सहभागितामा थप दुईवटा ‘मिट एन्ड ग्रीट’ कार्यक्रम आयोजना हुँदैछन्। आगामी सेप्टेम्बर ५ मा क्वीन्सल्यान्डको उत्तरी सहर केर्न्समा तथा सेप्टेम्बर ९ मा ब्रिसबेनमा कार्यक्रम हुने तय भएको छ।
ती दुवै कार्यक्रमबाट संकलन हुने रकम पनि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उपलब्ध गराउने तयारी रहेको जनाइएको छ।
हमालसँगको फ्यान भेटघाटका यी कार्यक्रम ८८४८ मःम हाउसको आयोजनामा भइरहेका हुन्। अस्ट्रेलिया भ्रमणमा रहेका हमाल सेप्टेम्बर १० मा नेपाल फर्किने कार्यक्रम रहेको बताइएको छ।
यसअघि पनि बाढी तथा प्राकृतिक विपद्का बेला विभिन्न कलाकार तथा सार्वजनिक व्यक्तित्वले राहत तथा उद्धारका लागि आर्थिक सहयोग जुटाउँदै आएका छन्। हमालले पनि फ्यानसँगको भेटघाटलाई सहयोग संकलनसँग जोड्दै प्रभावित नागरिकका लागि रकम उपलब्ध गराएका हुन्।








Facebook Comments