काठमाडौँ । तिब्बततर्फबाट आएको आकस्मिक बाढीले रसुवा र नुवाकोटका १४ वटा विद्युत् आयोजना प्रभावित भएका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार बाढीबाट सञ्चालनमा रहेका नौ र निर्माणाधीन पाँच आयोजना प्रभावित भएका हुन्।

मन्त्रालयका अनुसार रसुवामा पाँच सञ्चालनमा रहेका र तीन निर्माणाधीन गरी आठ आयोजना प्रभावित भएका छन्। ती आयोजनाको कुल उत्पादन क्षमता ५७८.४२ मेगावाट रहेको छ।

ad

रसुवामा प्रभावित आयोजनामा माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट), रसुवागढी (१११ मेगावाट), रसुवा भोटेकोशी (१२० मेगावाट), साञ्जेन खोला (७८ मेगावाट), माथिल्लो मैलुङ ‘ए’ (६.४२ मेगावाट), मैलुङ खोला (५ मेगावाट), लाङटाङ खोला (२० मेगावाट) र चिलिमे (२२ मेगावाट) छन्।

नुवाकोटमा भने चार सञ्चालनमा रहेका र दुई निर्माणाधीन गरी छवटा आयोजना बाढीबाट प्रभावित भएको मन्त्रालयले जनाएको छ। ती आयोजनाको कुल क्षमता १७५.६ मेगावाट छ।

प्रभावित आयोजनामा २४ मेगावाटको त्रिशूली जलविद्युत्, १४.१ मेगावाटको देवीघाट, ६० मेगावाटको माथिल्लो त्रिशूली–३ ए, ३७ मेगावाटको माथिल्लो त्रिशूली–३ बी, १५.६ मेगावाटको मिडल त्रिशूली गंगा र २५ मेगावाट क्षमताको सौर्य आयोजना रहेका छन्।

बाढीपछि केही आयोजना तथा प्रभावित क्षेत्रमा कार्यरत कर्मचारी, मजदुर र स्थानीयसँग सम्पर्क हुन नसकेको मन्त्रालयले जनाएको छ। उनीहरूको विवरण संकलन गरी उद्धारका लागि गृह मन्त्रालयसँग समन्वय भइरहेको छ।

नेपाल विद्युत् प्राधिकरणले प्रभावित क्षेत्रमा उद्धार तथा आवश्यक व्यवस्थापनका लागि सातवटा सवारीसाधन पठाएको छ। थप १४ वटा सवारीसाधन तयारी अवस्थामा राखिएको मन्त्रालयले जनाएको छ।

बाढीका कारण विद्युत् आपूर्ति प्रभावित हुन नदिन प्राधिकरणले प्राविधिक टोलीसमेत परिचालन गरेको छ। प्रभावित आयोजनाको भौतिक अवस्था, संरचनामा भएको क्षति र पुनः सञ्चालनको सम्भावनाबारे प्राविधिक मूल्याङ्कन सुरु गरिएको छ।

यसैबीच, तल्लो तटीय क्षेत्रमा थप जोखिम कम गर्न जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले दुई लाखभन्दा बढी मोबाइल नम्बरमा एसएमएसमार्फत पूर्वसूचना पठाएको जनाएको छ।

तर बाढीबाट केन्द्रका गेज स्टेसनलगायत केही संरचनामा समेत क्षति पुगेकाले नदीको अवस्था नियमित रूपमा निगरानी गरी थप सुरक्षा सूचना प्रवाह गर्न कठिनाइ भइरहेको मन्त्रालयले जनाएको छ।

बाढीबाट विद्युत् आयोजनालगायत ऊर्जा क्षेत्रमा भएको क्षतिको वास्तविक विवरण संकलन र प्राविधिक मूल्याङ्कन गर्न ऊर्जा मन्त्रालयले समिति गठन गरेको छ।

मन्त्रालयका अनुसार योजना महाशाखाका सहसचिवको संयोजकत्वमा गठन गरिएको समितिले प्रभावित आयोजनाको स्थलगत अवस्था, भौतिक क्षति, विद्युत् उत्पादनमा परेको असर तथा पुनःस्थापनाका लागि आवश्यक कामबारे अध्ययन गर्नेछ।

मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीद्वारा जारी विज्ञप्तिमा समितिले संकलन गरेको विवरणका आधारमा थप आवश्यक कदम अघि बढाइने उल्लेख छ।