काठमाडौँ । तिब्बततर्फबाट आएको बाढीले प्रभावित रसुवा र नुवाकोटमा खोज तथा उद्धारका लागि सरकारले १३ वटा हेलिकप्टर परिचालन गरेको छ। नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा उद्धार अभियान सञ्चालन भइरहेको सरकारले जनाएको छ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विपद्पछिको खोज तथा उद्धारबारे जानकारी दिँदै परराष्ट्रमन्त्री शिशिर खनालले उद्धार कार्यलाई प्रभावकारी बनाउन सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको बताए।

ad

बाढीपछि रसुवा र आसपासका सुरक्षा पोस्टमा कार्यरत २६ जना नेपाल प्रहरी, नौ जना सशस्त्र प्रहरी तथा नेपाली सेनाका ४४ जना सुरक्षाकर्मी सम्पर्कविहीन रहेको मन्त्री खनालले जानकारी दिए। रसुवागढी भन्सार र अध्यागमन कार्यालयलगायतका केही कर्मचारीको अवस्था पनि अझै यकिन हुन नसकेको उनले बताए।

सरकारका अनुसार बाढी प्रभावित क्षेत्रमा हालसम्म नौ जनाको शव फेला परेको छ। फेला परेका शवको पहिचान भने हुन बाँकी छ।

उद्धार गरिएका घाइतेको उपचारका लागि नुवाकोट जिल्ला अस्पतालमा थप स्वास्थ्य जनशक्ति परिचालन गरिएको छ। मन्त्री खनालका अनुसार नेपाली सेनाका १५, नेपाल प्रहरीका १२ र सशस्त्र प्रहरी बलका १५ चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली अस्पताल पठाइएको छ।

बाढी प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारका लागि सरकारले तीन जिल्लाका विपद् व्यवस्थापन कोषमा थप बजेट उपलब्ध गराएको छ।

रसुवा र नुवाकोटका जिल्ला विपद् व्यवस्थापन कोषमा १–१ करोड रुपैयाँ तथा धादिङको कोषमा ५० लाख रुपैयाँ थप निकासा गरिएको मन्त्री खनालले प्रतिनिधिसभालाई जानकारी दिए।

सरकारले प्रभावित नागरिकको खोज तथा उद्धार, उपचार, राहत वितरण र सुरक्षित स्थानान्तरणलाई प्राथमिकतामा राखेर सबै उपलब्ध संयन्त्र परिचालन गरिएको जनाएको छ।