
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको आकस्मिक बाढीपछि प्रभावित क्षेत्रमा रहेका ३८४ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको दोस्रो अद्यावधिक विवरणअनुसार सम्पर्कविहीनमध्ये २९१ जना विदेशी र ९३ जना नेपाली नागरिक छन्।
बाढीका कारण विभिन्न १० वटा ट्राभल तथा टुर एजेन्सीमार्फत यात्रा गरिरहेका पर्यटकसँग सम्पर्क हुन नसकेको बोर्डले जनाएको छ। प्राप्त प्रारम्भिक विवरणअनुसार सबैभन्दा धेरै पर्यटक ट्रेकर्स सोसाइटीमार्फत गएका थिए। सो समूहका ९२ जना सम्पर्कविहीन छन्, जसमा ७७ विदेशी र १५ नेपाली छन्।
सम्राट टुर्स एन्ड ट्राभल्समार्फत यात्रा गरेका ७१ जना पनि सम्पर्कमा छैनन्। उनीहरूमध्ये ५९ भारतीय र १२ नेपाली छन्। त्यस्तै, लिफ हलिडेमार्फत गएका ५५ जनामा ४६ भारतीय र नौ नेपाली रहेका छन्।
हिमालयन ग्लेसियरमार्फत यात्रा गरेका ५२ जना पनि सम्पर्कविहीन छन्। तीमध्ये ३७ जना गैरआवासीय भारतीय (एनआरआई) र १५ जना नेपाली रहेको बोर्डको विवरणमा उल्लेख छ।
अन्य कम्पनीतर्फ कैलाश जर्नीका ३१, फिसटेल टुर्स एन्ड ट्राभल्सका २७, अल्पाइन इको ट्रेकका २०, काठमाडौँ हलिडे टुर्स एन्ड ट्राभल्सका १७, रिचा टुर्स एन्ड ट्राभल्सका १२ तथा एक्सप्लोर भ्याकेसनका सात जना पर्यटक सम्पर्कविहीन रहेको जनाइएको छ।
बोर्डका अनुसार सम्पर्कविहीन विदेशी पर्यटकहरू भारत, अस्ट्रेलिया, नेदरल्यान्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिक हुन्। कैलाश जर्नी, ट्रेकर्स सोसाइटी र रिचा टुर्समार्फत गएका १११ जना विदेशीको राष्ट्रियता भने अझै यकिन हुन सकेको छैन।
बाढी प्रभावित क्षेत्रमा रहेका तथा सो क्षेत्र हुँदै यात्रा गरिरहेका पर्यटकको अवस्था पहिचान गर्न पर्यटन बोर्ड, पर्यटक प्रहरी, ट्राभल एजेन्सी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायले संयुक्त रूपमा खोजी तथा समन्वय गरिरहेका छन्। प्राप्त विवरणहरू सम्बन्धित एजेन्सी र सुरक्षा निकायसँग समन्वय गरी रुजु गर्ने काम भइरहेको बोर्डले जनाएको छ।
आपत्कालीन सहायता तथा जानकारीका लागि बोर्डले टोल–फ्री नम्बर १२३४, हटलाइन ११४४ र पर्यटक प्रहरीको मोबाइल नम्बर ९८५१२८९४४५ सार्वजनिक गरेको छ। प्रभावितका आफन्त तथा सरोकारवालालाई नजिकको प्रहरी कार्यालय, सुरक्षा निकाय, स्थानीय प्रशासन वा सम्बन्धित ट्राभल एजेन्सी तथा टुर अपरेटरसँग तत्काल सम्पर्क गर्न आग्रह गरिएको छ।
बोर्डले पर्यटक तथा उनीहरूका परिवारलाई नआत्तिन, संयमित रहन र सुरक्षा निकायले जारी गरेका आधिकारिक निर्देशन पालना गर्न आग्रह गरेको छ।









Facebook Comments