अमेरिकी सर्वोच्च अदालतले जन्मसिद्ध नागरिकता सम्बन्धी अघिल्लो प्रयासलाई असंवैधानिक ठहर गर्दै रोकेको केही साताअघि मात्रै राष्ट्रपति डोनाल्ड ट्रम्पले यस विषयलाई नयाँ स्वरूपमा अघि बढाएका छन्।

ह्वाइट हाउसको ओभल अफिसबाट बिहीबार दुई नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गर्दै ट्रम्पले 'बर्थ टुरिजम' माथि प्रतिबन्ध लगाउनुका साथै अमेरिकामा जन्मिएका केही शिशुले स्वत: नागरिकता पाउने दायरामा कटौती गरेका हुन्। सर्वोच्च अदालतको अघिल्लो निर्णयलाई 'अन्यायपूर्ण' भन्दै असन्तुष्टि जनाएका उनले अमेरिकाको उदार आप्रवासन प्रणालीको दुरुपयोग रोक्न यो कदम आवश्यक रहेको दाबी गरे।

ad

नयाँ आदेशअनुसार अब दुवै अभिभावक अमेरिकी नागरिक नभएको अवस्थामा, यदि तीमध्ये एक जना विदेशी आतंकवादी समूहसँग आबद्ध, विदेशी सरकारका कर्मचारी, जालसाजीमार्फत नागरिकता लिन खोजेका वा संघीय कानुनअनुसार स्वत: नागरिकता नदिइने भूभागमा बस्ने भएमा उनीहरूका सन्तानले स्वत: अमेरिकी नागरिकता पाउने छैनन्।

ट्रम्प प्रशासनले विशेष गरी रुस र चीनका नागरिकहरूले बच्चा जन्माएर नागरिकता दिलाउने 'बर्थ टुरिजम' को दुरुपयोग गरेको आरोप लगाउँदै आएको छ। ट्रम्पले यसरी लाखौँ बालबालिका जन्मिएको दाबी गरे पनि गैरदलीय संस्था 'माइग्रेसन पोलिसी इन्स्टिच्युट' का अनुसार यस्तो संख्या वार्षिक करिब २२ हजारदेखि २६ हजारको बीचमा मात्रै सीमित छ।

यसैबीच कानुनी विज्ञहरूले ट्रम्पको यो नयाँ आदेशमाथि पनि गम्भीर संवैधानिक प्रश्न उठाएका छन्। कानुनविद गेब्रियल चिनका अनुसार पर्यटक वा आगन्तुकका रूपमा अमेरिका प्रवेश गर्नेहरूमाथि सीमा लगाउने अधिकार राष्ट्रपतिसँग भए पनि, अमेरिकी माटोमा जन्मिसकेको बच्चालाई संविधानको १४औँ संशोधन अनुसार नागरिकताबाट वञ्चित गर्ने अधिकार राष्ट्रपतिलाई हुँदैन।

सन् २०२५ मा दोस्रो कार्यकाल सुरु गरेलगत्तै ट्रम्पले जारी गरेको पहिलो आदेशलाई सर्वोच्च अदालतले गत जुनमा रोकिदिएपछि आएको यो नयाँ प्रयासले अमेरिकामा पुनः कानुनी र राजनीतिक बहस सिर्जना गरेको छ।