काठमाडौं । बंगालको खाडीमा विकसित अर्नब चक्रवात भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रमा प्रवेश गरेपछि तीन जनाको मृत्यु भएको छ भने कम्तीमा ३१ घरमा क्षति पुगेको छ। तीव्र हावाहुरी र भारी वर्षाका कारण रूख तथा बिजुलीका पोल ढल्दा जनजीवन प्रभावित भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतको राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) का महानिरीक्षक नरेन्द्र सिंह बुन्डेलाले बुधबार पत्रकार सम्मेलनमा आन्ध्र प्रदेश चक्रवातबाट सबैभन्दा बढी प्रभावित भएको जानकारी दिएका थिए। प्रारम्भिक विवरणअनुसार त्यहाँ तीन जनाको मृत्यु भएको र विभिन्न प्रकृतिका ३१ घरमा क्षति पुगेको छ। ओडिशामा भने चक्रवातको गम्भीर प्रभाव नदेखिएको उनले बताएका छन्।

ad

रूख र बिजुलीका तारले लियो तीन जनाको ज्यान
चक्रवातका कारण आन्ध्र प्रदेशका तीन जिल्लामा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो।

पश्चिम गोदावरी जिल्लाको भीमावरममा रूखले थिच्दा ४६ वर्षीय चोक्का किशोर कुमारको मृत्यु भएको थियो। उनलाई अस्पताल पुर्‍याइएपछि चिकित्सकले मृत घोषणा गरेका थिए।

त्यस्तै, विशाखापट्टनम जिल्लामा खेतको कुलोमाथि ढलेको बिजुलीको तारमा छुँदा ५३ वर्षीय पुरुषको ज्यान गएको छ। अनाकापल्ली जिल्लाको येल्लामन्चिलीमा भुइँमा लत्रिएको बिजुलीको तारमा टेक्दा ५५ वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध, विद्युत् र यातायात सेवा प्रभावित
चक्रवातले आन्ध्र प्रदेशका तटीय क्षेत्रमा भौतिक संरचनामा समेत क्षति पुर्‍याएको छ। काकिनाडा क्षेत्रमा धेरै रूख र बिजुलीका पोल ढलेका छन् भने समुद्री छाल र तटीय कटानका कारण उप्पाडा सडक क्षतिग्रस्त भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।

विशाखापट्टनमका विभिन्न स्थानमा पानी जम्नुका साथै रूख ढलेपछि सडक आवागमन अवरुद्ध भएको छ। विद्युत् आपूर्ति प्रभावित हुँदा सर्वसाधारणले थप कठिनाइ भोग्नुपरेको छ। चक्रवातका कारण तटीय विमानस्थलका केही उडान रद्द भएका छन् भने रेल सेवासमेत प्रभावित भएको छ।

भारतीय मौसम विभागका अनुसार चक्रवात बुधबार बिहान आन्ध्र प्रदेशको काकिनाडा र केन्द्रशासित प्रदेश पुदुचेरीअन्तर्गतको यानमबीचको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको थियो। तट पार गर्ने क्रममा हावाको गति प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर पुगेको थियो भने हावाको झोक्काको गति प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको थियो।

जमिनमा प्रवेश गरेपछि चक्रवात कमजोर हुँदै गएको बताइएको छ। यद्यपि, यससँगै परेको भारी वर्षाका कारण अनाकापल्ली र विशाखापट्टनमका केही स्थानमा २०० मिलिमिटरभन्दा बढी वर्षा भएको छ।

उद्धार र राहत कार्य तीव्र
चक्रवात कमजोर भए पनि आन्ध्र प्रदेशका विभिन्न क्षेत्रमा भारी वर्षाको सम्भावना रहेकाले मौसम विभागले सतर्कता अपनाउन आग्रह गरेको छ। सम्भावित थप क्षति रोक्न उद्धार तथा राहत टोलीलाई तयारी अवस्थामा राखिएको छ।

आन्ध्र प्रदेश सरकारले ढलेका रूख हटाउने, अवरुद्ध सडक खुलाउने र विद्युत् सेवा पुनः सञ्चालन गर्ने काम अघि बढाएको छ। प्रभावित बासिन्दालाई सुरक्षित स्थानमा राखेर खाना, पिउने पानी तथा स्वास्थ्य सेवा उपलब्ध गराउने प्रयास भइरहेको छ।

छिमेकी राज्य ओडिशामा पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै सतर्कता अपनाइएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार त्यहाँ ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। एनडीआरएफका टोली आन्ध्र प्रदेश, ओडिशा र आसपासका क्षेत्रमा उद्धार तथा राहतका लागि परिचालनको तयारीमा राखिएका छन्।