– किरण शर्मा

तिम्रा अहंकार र पदलोलुपताले जनता थकित भएकै हुन् । तिमीहरूले विचार, निष्ठा, त्याग र विवेक गुमाएकै कारण जनता रुष्ट बनेकै हुन् । तिम्रो नग्नता देखेर पार्टीभित्रका विचारवान् र त्यागी नेता–कार्यकर्ता लजाएकै हुन् ।

ad

तिम्रा कुकर्मको जालो तोड्न नसकेर ऊर्जाशील तरुणको जाँगर नै नैराश्यतामा बदलिएकै हो । गल्ती तिमीले ग¥यौ, दोष प्रजातन्त्रले पायो, गाली गणतन्त्रले खायो । विचारको पोखरी तिमीले धमिल्यायौ, अराजकताले माछा मार्न भ्यायौ र देश जल्यो ।

तिमी आफूलाई बिपीवादी भन्छौ, तर तिम्रै चेतना हराएको मौकामा अराजकता सल्बलायो, देशमा आगो बल्यो, र त्यो पवित्र दिनलाई दूषित बनाएर छाड्यो—२०८२ भदौ २४ गते ।

जुन दिन श्रद्धापूर्वक बिपी जयन्ती मनाइनुपथ्र्यो, तर त्यो दिन अराजकताको उत्सव बन्यो । खिइँदै गएको संगठनलाई खाक्सीले सफा गर्दै, रेतीले धार हाल्दै एउटा जागरण उदायो पार्टीभित्र । तर, पनि परिवर्तन र जागरणलाई आत्मसात् गर्न सकेनौ । आफ्नै कारण चुनाव हा¥यौ । के भनूँ, आफूले आफैँलाई हरायौ ।

विधि, विधान, नीति र परम्परालाई स्वीकार गर्न सकेनौ । आत्मालोचना गर्न सकेनौ । राणाले, राजाले वा सशस्त्र द्वन्द्वको कालरात्रिले जलाउन नसकेको कांग्रेसलाई तिमी आफैँले मसालको दुरुपयोग गरेर खरानी बनाउन अग्रसर भयौ । त्यो खरानी बनाउने अभियानका लागि पनि

तिमीले त्यही पवित्र दिन रोज्यौ, जुन दिन बिपीका आदर्श, निष्ठा, त्याग र मेलमिलापबारे चिन्तन हुनुपथ्र्यो, व्यवहारमा उतारिनुपथ्र्यो ।

श्रावण ६ गतेको बिपी स्मृति दिवसलाई हदसम्म दुरुपयोग ग¥यौ । यस्ता शब्द बोल्यौ, जुन शब्द शत्रुका लागि पनि उपयुक्त हुँदैनन् । त्यही शब्द आफ्नै सगोत्रीका लागि प्रयोग ग¥यौ । छाडा बन्यौ, अराजक बन्यौ, र एकअर्कासँग कहिल्यै सँगै बस्न नसक्ने, अँगालो हाल्न र अँगालोमा बाँधिन नसक्ने अवस्थाको सिर्जना ग¥यौ ।

बिपी, गणेशमान, कृष्णप्रसाद भट्टराई, सुवर्ण, महेन्द्रनारायण, गिरिजाप्रसाद, सुशील— यी कसैका नातासम्बन्धी मात्र होइनन्, देशका हुन्, पार्टीका हुन्, विचारका हुन् । यति सामान्य सत्यसमेत बिर्सियौ ।

त्यही व्यक्तिहरू यस अनिष्ट कर्ममा सक्रिय भयौ, जसले देशबाट, पार्टीबाट, समाजबाट सम्मान, पद र अवसर सबैथोक पायौ । तर, सहिदहरूको त्याग बिर्सियौ ।

यो पार्टी सुकिला–मुकिला र अवसर पाएका केही ठेकेदारहरूको मात्र होइन । यो लाखौँ ती सिद्धान्तनिष्ठ कार्यकर्ताको पनि हो, जसले प्रजातन्त्रका लागि जीवन उत्सर्ग गरे, जसले आफ्ना ऊर्जाशील वर्षहरू जेल र प्रवासमा बिताए, जसले परिवार गुमाए, सम्पत्ति गुमाए, अवसर गुमाए, सुखको जीवन त्यागेर सादगीलाई अँगाले । तिनैको त्यागले आजसम्म यो पार्टी बचाइराखेको हो ।

यो पार्टी सबैथोक पाएर पनि नपुग्नेहरूको मात्र होइन, सधैँ सक्रिय रहने श्रमिक कार्यकर्ताको पनि हो । तर तिमीले त्यो सम्झन सकेनौ ।

यो तस्बिर २०७९ सालको प्रतिनिधिसभा निर्वाचनताकाको हो । कांग्रेसको घरदैलो कार्यक्रममा आफ्नो घरमा पुगेका कार्यकर्तालाई देखेर हजुरबुवाले कोठामा सजाएर राखेको चारतारे झन्डा झिकेर जुलुसमा मिसिन पुगेको पाँचवर्षे बालकको पनि सपना हो कांग्रेस । तोतेबोलीमा ‘नेपाली कांग्रेस जिन्दावाद, भोट केमा ? रुखमा !’ भन्दै कुद्ने त्यो बालकको निष्ठा हो कांग्रेस ।

२०८२ को निर्वाचनमा कांग्रेसको हारमा रमाउने कांग्रेसभित्रकै केही नेताभन्दा, कांग्रेस पराजित भएको खबर सुनेर पिल्पिलाएर खाना नै खान नमानेको त्यो बालक नै कांग्रेसको वास्तविक अगुवा हो । तर चिन्ता यही छ—त्यो बालक तन्नेरी भएर सडकमा उत्रिने बेलासम्म कांग्रेस बाँचिरहने हो कि होइन ?