चितवन – होटल एसोसिएसन नेपाल (हान) बागमती प्रदेश तदर्थ समितिको चितवनको सौराहामा सम्पन्न संयुक्त बैठकमा चितवनको पर्यटन क्षेत्रका सम्भावना, चुनौती र समाधानका उपायबारे विस्तृत छलफल भएको छ।

चितवन हानका अध्यक्ष ओम पाण्डेको अध्यक्षतामा बसेको बैठकमा होटल एसोसिएसन नेपाल बागमती प्रदेश तदर्थ समितिका अध्यक्ष तथा पर्यटन व्यवसायी रामसुन्दर बकेले होटल व्यवसायलाई समयअनुकूल र प्रतिस्पर्धी बनाउन प्रविधिमैत्री सेवा विस्तार, डिजिटल सूचना प्रणालीको विकास, सेवा गुणस्तर अभिवृद्धि तथा व्यवसायीबीच समन्वयलाई थप सुदृढ बनाउने योजना अघि सारे। सरकारले हात्ती सफारी सञ्चालनमा लगाएको प्रतिबन्धप्रति असन्तुष्टि व्यक्त गर्दै संरक्षण र पर्यटनबीच सन्तुलन कायम हुने गरी दीर्घकालीन समाधान खोज्न आवश्यक रहेको धारणा राखे । उनले चितवनको पर्यटनलाई थप सशक्त बनाउन निजी क्षेत्र र सरकारबीच प्रभावकारी सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।

ad

उनले कानुनी रूपमा सञ्चालनमा रहेका होटल तथा पर्यटन व्यवसायको प्रवर्द्धन, व्यवसायीहरूको हकहित संरक्षण, पर्यटनमैत्री नीति निर्माण तथा आवश्यक कानुनी सुधारका लागि तदर्थ समिति सक्रिय रूपमा लागिपर्ने प्रतिबद्धता व्यक्त गरे। बैठकमा सहभागी व्यवसायीहरूले चितवनलाई अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा थप प्रवर्द्धन गर्न पूर्वाधार विकास, सेवा गुणस्तर सुधार, प्रविधिको अधिकतम प्रयोग तथा निजी क्षेत्रको मनोबल बढाउने कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

बैठकका अध्यक्ष ओम पाण्डेले चितवन नेपालको प्रमुख पर्यटन गन्तव्य भएकाले यसको सम्भावनालाई अझ प्रभावकारी रूपमा उपयोग गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको बताए। उनले पर्यटन क्षेत्रलाई चलायमान बनाउन स्थानीय सरकार, निजी क्षेत्र र पर्यटनसँग सम्बन्धित संस्थाहरूबीच समन्वय बढाउनुपर्नेमा जोड दिए।