काठमाडौँ — दुग्ध विकास संस्थान (डीडीसी) ले आर्थिक वर्ष २०८२/८३ मा करिब ४ अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै साढे ६ करोड लिटरभन्दा बढी दूध प्रशोधन तथा बजारीकरण गरेको छ। अत्यधिक उत्पादनका कारण बटर र पाउडर दूधको मौज्दात थुप्रिँदा विगतमा किसानलाई भुक्तानी दिन सास्ती खेपेको संस्थानले अहिले बक्यौता भुक्तानी अवधि ६/७ महिनाबाट घटाएर २/३ महिनामा सीमित ल्याएको छ।

डीडीसीका प्रवक्ता निलकण्ठ गौतमका अनुसार अघिल्लो वर्ष 'फ्लस सिजन' मा सोचेभन्दा धेरै दूध संकलन भएपछि त्यसलाई पाउडर र बटरमा रूपान्तरण गरी भण्डारण गर्नुपरेकाले नगद प्रवाह (क्यास फ्लो) मा ठूलो असर परेको थियो। किसानको कुनै पनि दूध खेर जान नदिने नीति अनुसार संकलित दूध प्रशोधन गरी स्टोरमा राख्दा ती उत्पादन बिक्री हुन समय लागेको र त्यसैका कारण भुक्तानीमा ढिलाइ हुन पुगेको उनले बताए। अहिले भने मौज्दात सामान बिस्तारै बिक्री भइरहेकाले किसानलाई गर्नुपर्ने भुक्तानी प्रणाली सहज बन्दै गएको छ।

ad

विशेष गरी नयाँ सरकार गठनपछि स्वदेशी उत्पादन प्रवर्द्धनमा प्रधानमन्त्री बालेन शाहले देखाएको चासो र बजारीकरणमा मिलेको अप्रत्यक्ष सहयोगका कारण डीडीसीका उत्पादनको बिक्रीमा उल्लेख्य सुधार आएको संस्थानको भनाइ छ। सरकारका प्रमुखबाटै डीडीसीका उत्पादनहरूबारे चासो व्यक्त भएपछि संस्थानकै तर्फबाट ठूलो प्रचारप्रसार भएजस्तो सकारात्मक वातावरण बनेको र यसले बजारमा दुग्धजन्य पदार्थको खपत बढाउन मुख्य भूमिका खेलेको प्रवक्ता गौतमले बताए।

दूध तथा दुग्धजन्य पदार्थको बिक्री वर्षभरि एकनास नहुने र यो मौसम तथा विभिन्न सामाजिक-सांस्कृतिक पर्वहरूमा निर्भर रहने संस्थानले जनाएको छ। गर्मी यामका साथै चाडपर्व, विवाह र धार्मिक कार्यहरू धेरै हुने समयमा दही, लस्सी, मोही तथा आइसक्रिम जस्ता उत्पादनको माग बजारमा ह्वात्तै बढ्ने भएकाले आगामी दिनमा व्यापार अझ विस्तार हुने अपेक्षा डीडीसीले लिएको छ।