काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारका प्रधानमन्त्रीदेखि सबै मन्त्री राजनीतिक दल, सम्बन्धित नेतृत्व र जनताप्रति समान रूपमा उत्तरदायी हुनुपर्ने बताएका छन्। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र पार्टीबीचको सम्बन्धलाई लिएर चर्चा भइरहेका बेला उनको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

सोमबार आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाबारे सबै मन्त्रालयका सचिवहरूसँग भएको छलफलमा वाग्लेले सरकारको जवाफदेहिता जनतामा मात्र सीमित नरहने स्पष्ट पारे। उनले प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो राजनीतिक दल र नेतृत्वप्रति पनि जिम्मेवार भएर काम गर्नुपर्ने धारणा राखे।

ad

वाग्लेका अनुसार सरकार सञ्चालनमा पारदर्शिता, उत्तरदायित्व र राजनीतिक समन्वय अपरिहार्य हुन्छ। उनले बजेट कार्यान्वयन प्रभावकारी बनाउन सबै मन्त्रालयले परिणाममुखी ढंगले काम गर्नुपर्नेमा पनि जोड दिए।

उनको यो भनाइ केही दिनअघि रास्वपा सभापति रवि लामिछानेसँग भएको भेटवार्तापछि आएको हो। स्रोतका अनुसार धुलिखेलमा भएको छलफलमा पार्टी र सरकारबीचको भूमिका तथा शक्ति सन्तुलनबारे विस्तृत संवाद भएको थियो। त्यसक्रममा पार्टी नेतृत्वले सरकार र संगठनबीच समन्वय कायम राख्ने प्रतिबद्धता जनाएको बताइएको छ।

रास्वपाभित्र पछिल्ला दिनमा सरकारका निर्णय र पार्टीको भूमिकाबीच तालमेलको विषयमा विभिन्न टिप्पणी भइरहेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले उद्योगी–व्यवसायीसँग निरन्तर भेटघाट गरिरहेका बेला ती भेटमा अर्थमन्त्रीको सहभागिता नदेखिएको विषयले पनि राजनीतिक वृत्तमा चर्चा पाएको छ।

यही पृष्ठभूमिमा अर्थमन्त्री वाग्लेले प्रधानमन्त्रीसहित सरकारका सबै सदस्य राजनीतिक नेतृत्वप्रति पनि उत्तरदायी हुनुपर्ने सार्वजनिक अभिव्यक्ति दिएका हुन्। उनको भनाइलाई सरकार सञ्चालनमा पार्टीको भूमिका र राजनीतिक जवाफदेहितालाई जोड दिने सन्देशका रूपमा विश्लेषण गरिएको छ।