
विश्वकप इतिहासकै एक सर्वाधिक रोमाञ्चक र यादगार खेलमा इङ्गल्याण्डले फ्रान्सलाई ६–४ को भारी गोल अन्तरले स्तब्ध पार्दै तेस्रो स्थान हासिल गरेको छ। कुल १० गोल भएको यो बहुप्रतिक्षित खेल सन् १९८२ पछि विश्वकपको कुनै पनि खेलमा सबैभन्दा बढी गोल भएको नयाँ कीर्तिमान समेत बन्न पुग्यो। कास्य पदकका लागि भएको यस भिडन्तमा इङ्गल्याण्डले सुरुवाती समयदेखि नै आक्रामक रणनीति अपनाएको थियो। खेलको तेस्रो मिनेटमै कप्तान डेक्लान राइसले लामो दुरीबाट उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। लगत्तै १८औँ मिनेटमा राइसकै कर्नर पासमा एजरी कोन्साले सानदार हेडरमार्फत गोल गर्दै खेल २–० को स्थितिमा पुर्याए। त्यसपछि स्टार स्ट्राइकर बुकायो साकाले ३७औँ र पहिलो हाफको इन्जुरी समय (४५+१) मिनेटमा व्यक्तिगत दुई गोल थपेपछि इङ्गल्याण्डले हाफ-टाइमसम्म ४–० को अप्रत्याशित र बलियो अग्रता बनाएको थियो।
दोस्रो हाफमा फ्रान्सका मुख्य प्रशिक्षक डिडिएर डेशॉले टोलीमा चारवटा ठुला परिवर्तन गरेपछि खेलको नक्सा नै बदलियो। उस्मान डेम्बेले र ब्राडली बारकोला मैदान छिरेसँगै फ्रान्सको आक्रमणमा नयाँ उर्जा देखियो। खेलको ४८औँ मिनेटमा केलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सको पुनरागमनको बाटो खोले। त्यसको १० मिनेटपछि बारकोलाले गोल गर्दै खेललाई ४–२ को स्थितिमा ल्याए। दबाबलाई निरन्तरता दिँदै ६७औँ मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि खेल ४–३ को रोमाञ्चक मोडमा पुग्यो। यस गोलसँगै एम्बाप्पेले विश्वकप इतिहासमा आफ्नो २२औँ गोल पुरा गर्दै लियोनल मेस्सीको २१ गोलको कीर्तिमानलाई पछि पारे भने यसै संस्करणमा १० गोल गर्दै गोल्डेन बुटको दौडमा पनि शीर्ष स्थान सुरक्षित गरे।
खेलको उत्तरार्धमा फ्रान्सले इङ्गल्याण्डलाई तीव्र दबाबमा राखे पनि ८७औँ मिनेटमा इङ्गल्याण्डले पेनाल्टीको अवसर पायो। बुकायो साकाले उक्त पेनाल्टीलाई सहजै गोलमा परिणत गर्दै आफ्नो ह्याट्रिक पुरा गरे र इङ्गल्याण्डलाई ५–३ को अग्रता दिलाए। खेल सकिनै लाग्दा स्टपेज समयको (९०+६) मिनेटमा फ्रान्सका उस्मान डेम्बेलेलले गोल गरेपछि खेल ५–४ को अवस्थामा पुग्यो र मैदानमा तनाव झन् बढ्यो। तर, खेलको अन्तिम समय अर्थात् (९०+८) मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका जुड बेलिङ्घमले गोल गर्दै इङ्गल्याण्डको ६–४ को ऐतिहासिक जित सुनिश्चित गरे। सन् १९६६ मा विश्वकप उपाधि जितेयता इङ्गल्याण्डको यो विश्वकप इतिहासकै उत्कृष्ट प्रदर्शन हो। खेल समाप्तिपछि इङ्गल्याण्डका प्रशिक्षक थोमस टुकेलले फ्रान्सेली प्रशिक्षक डेशॉलाई अङ्गालो हालेर बिदाई गरे, जसको फ्रान्सको मुख्य प्रशिक्षकका रूपमा यो अन्तिम खेल थियो।










Facebook Comments