काठमाडौं । नेपाली क्रिकेटको प्रतिष्ठित फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण आज ९कात्तिक ९० देखि सुरु हुँदैछ।  

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता लुम्बिनी लायन्स र गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्स भिड्दैछन्। खेल नेपाली समयअनुसार साँझ ४:३० बजे सुरु हुनेछ।

ad

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने प्रतियोगितामा आठ टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्स प्रतियोगितामा सहभागी छन्।

यस संस्करणमा विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। क्यानले पुरस्कार राशि बढाउँदै विजेताको पुरस्कार अघिल्ला दुई संस्करणको तुलनामा ५० लाख रुपैयाँले वृद्धि गरेको हो।

त्यस्तै, उपविजेता टोलीले ८० लाख रुपैयाँ, तेस्रो हुने टोलीले ४० लाख रुपैयाँ र चौथो हुने टोलीले ३० लाख रुपैयाँ प्राप्त गर्नेछन्। शीर्ष चार टोलीका लागि मात्रै कुल ३ करोड रुपैयाँ पुरस्कार विनियोजन गरिएको छ ।