काठमाडौँ । राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने परम्परासँगै यस वर्ष १५ असारमा देशभर करिब ७५ लाख लिटर दही खपत हुने अनुमान गरिएको छ। नेपाल डेरी एसोसिएसनका अनुसार उक्त दिन दहीको बिक्रीबाट झन्डै एक अर्ब रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ।

बिहीबार काठमाडौँमा आयोजित दही–चिउरा प्रवर्द्धन कार्यक्रममा एसोसिएसनले नेपालीहरूको मौलिक खाद्य संस्कृतिसँग जोडिएको यो पर्वले दुग्धजन्य उत्पादनको खपत उल्लेखनीय रूपमा बढाउने जनाएको हो।

ad

कार्यक्रममा बोल्दै एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले १५ असारजस्ता सांस्कृतिक पर्वले कृषि, किसान र स्वदेशी उत्पादनबीचको सम्बन्धलाई थप सुदृढ बनाउने बताए। यस्ता अवसरले स्थानीय उत्पादनको उपयोग बढाउनुका साथै ग्रामीण अर्थतन्त्रलाई समेत टेवा पुर्‍याउने उनको भनाइ थियो।

दाहालले स्वदेशी दूध तथा दुग्धजन्य वस्तुको उत्पादन र उपभोगलाई प्रोत्साहन गर्न राष्ट्रिय स्तरको अभियान आवश्यक रहेको उल्लेख गर्दै यस विषयमा एसोसिएसनले निरन्तर आवाज उठाइरहेको बताए।

उनले दुग्ध किसानले उत्पादनको उचित मूल्य पाउनुपर्ने, भुक्तानी प्रक्रिया समयमै सुनिश्चित हुनुपर्ने तथा दुग्ध उद्योगको दिगो विकासका लागि सरकार, उद्योगी र सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

नेपालमा असार १५ लाई धान रोपाइँको उत्सवका रूपमा मनाउने गरिन्छ। खेतमा रोपाइँ सकेपछि दही–चिउरा खाने परम्पराले यो दिनलाई सांस्कृतिक तथा कृषि दुवै दृष्टिले विशेष बनाएको छ।