
काठमाडौँ । सुदूरपश्चिमको पहिचान र विकासको भावनालाई समेटेर तयार पारिएको गीत "सुदूर अब दूर नाइँ" यतिबेला डिजिटल दुनियाँमा सुनामीजस्तै छाएको छ। टिकटकदेखि फेसबुक र इन्स्टाग्रामका रिलसम्म यो गीतले राम्रो चर्चा पाएको छ।
यो गीतको मुख्य 'हुक लाइन' वर्तमान प्रधानमन्त्री तथा काठमाडौँका निवर्तमान मेयर बालेन शाहले तयार पारेका हुन्। आफ्नो चुनावी अभियानका क्रममा उनले फेसबुकमा लेखेको एक-लाइनको हरफबाट यो गीतको आधार तयार भएको थियो। सुदूरपश्चिम अब केन्द्रबाट टाढा छैन भन्ने सन्देश दिने उक्त हरफले अहिले एउटा पूर्ण गीतको रूप लिएको छ।
यो गीतको अर्को रोचक पक्ष यसको निर्माण प्रक्रिया हो। शक्ति घिमिरेले यसलाई पूर्ण गीतको रूप दिएका हुन्। घिमिरेले हिमाल टेकसँगको सहकार्यमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) सफ्टवेयरको प्रयोग गरी धुनहरू छनोट र परीक्षण गरेका थिए। एआईले तयार पारेका धुनहरूलाई शक्तिले व्यावसायिक रूपमा अडियो इन्जिनियरिङ गरी अन्तिम मास्टर ट्र्याक तयार पारेका हुन्, जसलाई 'ह्युमन-एआई कोलाबोरेटिभ प्रोजेक्ट' मानिएको छ।
सार्वजनिक भएको छोटो समयमै यस गीतमा टिकटकमा मात्रै २ लाख ५० हजारभन्दा बढी प्रयोगकर्ताले भिडियो बनाइसकेका छन्। सर्वसाधारणदेखि लिएर सांसद र उच्च ओहोदाका व्यक्तित्वहरूले समेत यस गीतमा भिडियो बनाएर सुदूरपश्चिमप्रतिको ऐक्यबद्धता जनाएका छन्।
गीतको लोकप्रियता बढेसँगै अन्य चर्चित कलाकारहरूले पनि यसलाई आफ्नै शैलीमा बजारमा ल्याएका छन्। तर पहिलोपटक प्रस्तुत गर्ने शक्ति घिमिरेको जस्तो जादु अरूकोमा नपाइएको कुरा प्रतिक्रियाहरूमा पढ्न सकिन्छ। यो गीत अहिले १५० भन्दा बढी प्लेटफर्महरूमा उपलब्ध छ।










Facebook Comments