काठमाडौं । लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना फैलाउने उद्देश्यसहित निर्माण हुन लागेको नेपाली चलचित्र ‘विषहरण’को कलाकार छनोट (अडिसन) सम्पन्न भएको छ ।
क्रिएटिभ विङ्स प्रोडक्सन हाउस प्रा.लि.को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रका लागि आयोजित अडिसनमा करिब ४० जना नयाँ तथा अनुभवी कलाकारले सहभागिता जनाएका थिए । सहभागीहरूले विभिन्न पात्रका लागि आफ्नो अभिनय कौशल प्रस्तुत गरेका थिए ।
अडिसन प्रक्रियामा नेपाली चलचित्र क्षेत्रका अनुभवी व्यक्तित्वहरूले निर्णायकको भूमिका निर्वाह गरेका थिए । चलचित्रको निर्देशन अनिल कजासुले गर्नेछन् भने निर्माण क्रिएटिभ विङ्स प्रोडक्सन हाउस प्रा.लि.ले गरिरहेको छ । एमबी राउत सह–निर्माताका रूपमा आबद्ध छन् ।
निर्माण टोलीले चलचित्रका प्रमुख कलाकारहरूको नाम भने हालसम्म सार्वजनिक गरेको छैन । निर्माण पक्षका अनुसार ‘विषहरण’ले लागुऔषध दुर्व्यसनका कारण व्यक्ति, परिवार र समाजमा पर्ने असरलाई उजागर गर्दै त्यसबाट मुक्त भएर नयाँ जीवन सुरु गर्न सकिने सकारात्मक सन्देश दिनेछ ।
चलचित्रको छायांकन निकट भविष्यमा सुरु गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।










Facebook Comments