
काठमाडौं । हिमाली जिल्ला सोलुखुम्बुको प्रतिनिधित्व गर्दै मिस नेपाल २०२६ को उत्कृष्ट २४ फाइनलिस्टमध्ये प्रतियोगी नम्बर १९ बिभुषा बस्नेत आफ्नो आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक उत्तरदायित्वका कारण विशेष चर्चामा छिन्।
सामाजिक अभियान, सञ्चार क्षेत्र र युवा नेतृत्वमा सक्रिय उनले मिस नेपालको मञ्चलाई परिवर्तनको सशक्त प्लेटफर्मका रूपमा उपयोग गर्ने योजना बनाएकी छन् । बिभुषाले सौन्दर्यलाई केवल बाहिरी आकर्षणका रूपमा नभई समाज परिवर्तनको प्रभावकारी माध्यमका रूपमा स्थापित गर्ने लक्ष्य लिएकी छन्।
कम उमेरदेखि नै आत्मनिर्भर बन्ने अठोट लिएकी बिभुषाले १७ वर्षको उमेरदेखि आफ्ना आर्थिक जिम्मेवारी आफैं वहन गर्दै आएकी छन्। यही अनुभवले उनलाई महिलाको आर्थिक स्वतन्त्रता र युवा सशक्तीकरणको पक्षमा स्पष्ट धारणा बनाउन प्रेरित गरेको हो। उनका अनुसार आर्थिक रूपमा सक्षम महिला मात्रै आफ्नो जीवनका महत्वपूर्ण निर्णय स्वतन्त्र रूपमा लिन सक्षम हुन्छन्। त्यसैले उनी महिलालाई आत्मनिर्भर बनाउन शिक्षा, सीप विकास र आर्थिक अवसर विस्तारमा जोड दिनुपर्नेछ ।
मिडिया क्षेत्रमा सक्रिय बिभुषाले पत्रकारिता, कार्यक्रम सञ्चालन तथा सञ्चारसँग सम्बन्धित विभिन्न गतिविधिमार्फत समाजका विविध मुद्दालाई उठाउँदै आएकी छन्। विशेषगरी महिला हिंसाका पीडितसँग प्रत्यक्ष रूपमा काम गर्ने क्रममा उनले आर्थिक रूपमा कमजोर महिलाले न्याय र आत्मनिर्भरता हासिल गर्न कति कठिन संघर्ष गर्नुपर्छ भन्ने कुरा नजिकबाट अनुभूति गरेकी छन्। यही अनुभवले उनलाई महिला तथा युवाको आर्थिक सशक्तीकरणलाई आफ्नो मुख्य सामाजिक अभियानका रूपमा अघि बढाउन प्रेरित गरेको हो।
बिभुषा हाल लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ आई नेपालकी उपाध्यक्षको जिम्मेवारीमा पनि सक्रिय छिन्। यस भूमिकामार्फत उनले युवा नेतृत्व विकास, स्वयंसेवा, सामाजिक सचेतना तथा समुदायमा सकारात्मक परिवर्तन ल्याउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएकी छन्।
उनका अनुसार मिस नेपाल केवल सौन्दर्य प्रतियोगिता मात्र होइन, समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने प्रभावशाली मञ्च हो।
मिस नेपाल २०२६ को प्रतिस्पर्धा अन्तिम चरणतर्फ अघि बढिरहँदा बिभुषा बस्नेतले आफ्नो व्यक्तित्व, नेतृत्व क्षमता, सामाजिक सोच र आत्मविश्वासका माध्यमबाट निर्णायकमण्डल, दर्शक तथा शुभेच्छुकको ध्यान आकर्षित गरिरहेकी छन्।









Facebook Comments