काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले वैकल्पिक आवासको व्यवस्था नगरी होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुमबासी परिवारलाई हटाउने सरकारको निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत देशभर कतै पनि आफ्नो नाममा जग्गा नभएका भूमिहीन दलित र भूमिहीन सुकुमबासीलाई पहिले जग्गाको टुङ्गो लगाएर मात्रै व्यवस्थापनको प्रक्रिया अघि बढाउनुपर्ने बताउँदै  वैकल्पिक आवासको व्यवस्था नगरी नागरिकलाई सडकमा पुर्‍याउने अधिकार सरकारलाई नभएको उल्लेख गरेका छन् । 

ad

भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्रमा रहेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका १९ परिवारका ५९ जनालाई जिल्ला प्रशासन कार्यालय भक्तपुरले शुक्रबार दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको छ । प्रशासनले घरभाडाबापत सरकारले उपलब्ध गराउने १५ हजार रुपैयाँ लिएर सेन्टर छाड्न भनेको छ । 

आङ्देम्बेले सरकारको उक्त कदमलाई संविधानप्रदत्त आवासको हकविपरीत रहेको बताएका छन् । संविधानको धारा ३७ ९१० ले प्रत्येक नागरिकलाई आवासको हक सुनिश्चित गरेको उल्लेख गर्दै उनले राज्यले नागरिकको आश्रय खोस्ने नभई आश्रयविहीनलाई सुरक्षित आवास उपलब्ध गराउनुपर्ने बताएका छन् । ‘राज्यको जिम्मेवारी नागरिकको आश्रय खोस्ने होइन, आश्रयविहीनलाई सुरक्षित आवास उपलब्ध गराउने हो,’ उनले लेखेका छन् ।