काठमाडौं।पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग सम्पर्क सम्बन्ध देखिएपछि पक्राउ परेका ईनम सापकोटाकी पत्नी कविता पाण्डेसँग प्रहरीले सोधपुछ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले उनलाई कार्यालयमा उपस्थित गराएर घटना विवरण कागज गराएको हो।

सापकोटा हाल जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन्। उनीविरुद्ध नेपाल राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ।

ad

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार पाण्डेलाई अघिल्लो साता नै प्रहरी कार्यालयमा बोलाएर सापकोटासँग सम्बन्धित आर्थिक कारोबारबारे जानकारी लिइएको थियो।

मोबाइल सन्देशमा ७ हजार ५०० डलरको प्रसंग

प्रहरीले सापकोटाको मोबाइल परीक्षण गर्ने क्रममा एक व्यक्तिलाई उनकी पत्नी कविताको बैंक खातामा रकम जम्मा गरिदिन आग्रह गरिएको सन्देश फेला पारेको बताइएको छ।

सन्देशमा सानिमा बैंकमा रहेको पाण्डेको खाता नम्बर उल्लेख गर्दै ७ हजार ५०० अमेरिकी डलर जम्मा गरिदिन भनिएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

यही सन्देश र सम्भावित आर्थिक कारोबारबारे थप जानकारी लिन प्रहरीले पाण्डेसँग सोधपुछ गरेको हो। उनको बयान तथा अनुसन्धानबाट प्राप्त विवरणलाई अनुसन्धान प्रक्रियामा समावेश गरिएको प्रहरीले जनाएको छ।

सापकोटासँग सम्पर्कमा रहेका अन्य व्यक्ति पनि हिरासतमा

यस प्रकरणमा प्रहरीले सापकोटासँग सम्पर्कमा रहेका अन्य व्यक्तिहरूमाथि पनि अनुसन्धान अघि बढाएको छ।

प्रहरी हिरासतमा रहेका व्यक्तिहरूमा कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल महेश श्रेष्ठ र लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पनि छन्।

सापकोटासँग उनीहरूको सम्पर्क र सम्भावित आर्थिक तथा अन्य सम्बन्धबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले सापकोटाको मोबाइलमा भेटिएका सन्देश, बैंक कारोबार र उनीसँग सम्पर्कमा रहेका व्यक्तिहरूको भूमिकालाई आधार बनाएर अनुसन्धान अघि बढाएको छ।