काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सुनकोशी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द गरिएको विषयसँग सम्बन्धित सम्पूर्ण कागजात सात दिनभित्र उपलब्ध गराउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

समितिको मंगलबार बसेको बैठकमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया, ऊर्जा मन्त्रालयका अधिकारीलगायतसँग छलफल गरेपछि आवश्यक कागजात माग गर्ने निर्णय गरिएको हो।

ad

समिति सभापति भरतबहादुर खड्काले सम्बन्धित निकायलाई सात दिनभित्र आवश्यक विवरण तथा कागजात पेस गर्न निर्देशन दिएका छन्। उनले भने, ‘७ दिनभित्र आवश्यक कागजात उपलब्ध गराउन निर्देश गर्दछु।’

माग गरिएका कागजात प्राप्त भएपछि समितिले त्यसको अध्ययन गरी थप छलफल र आवश्यक प्रक्रिया अघि बढाउने सभापति खड्काले बताएका छन्।

सुनकोशी–मरिण आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको ठेक्का प्रक्रिया अन्तिम चरणमा पुगेपछि रद्द गरिएको विषयमा समितिमा उजुरी परेको थियो।

टेन्डरका सम्पूर्ण प्रक्रिया पूरा भइसकेको अवस्थामा अन्तिम समयमा ठेक्का रद्द गरिएको र उक्त निर्णय प्रक्रियागत रूपमा त्रुटिपूर्ण रहेको दाबीसहित उजुरी परेपछि समितिले यसलाई चासोका साथ अघि बढाएको हो।

उजुरीमाथि प्रारम्भिक छलफल गर्न समितिले आजको बैठकमा सम्बन्धित सरकारी अधिकारीहरूलाई बोलाएको थियो। छलफलमा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक रजौरियालगायत अधिकारी सहभागी थिए।