
कास्की । अन्नपूर्ण संरक्षण क्षेत्रमा विदेशी पर्यटकको आगमन बढेको छ। सन् २०२६ को अक्टोबर महिनामा मात्रै ४१ हजार ७५८ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेका छन्।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार गत वर्षको अक्टोबरको तुलनामा यस वर्ष ४ हजार ६८२ जना बढी पर्यटक आएका हुन्। सन् २०२५ को अक्टोबरमा ३७ हजार ७६ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए।
आयोजना प्रमुख डा. रविन कडरियाका अनुसार अक्टोबर र नोभेम्बर मुख्य पर्यटकीय मौसम भएकाले यस अवधिमा विदेशी पर्यटकको आवागमन बढ्ने गरेको छ।
अक्टोबरमा आएका पर्यटकमध्ये १९ हजार २०७ जना दक्षिण एसियाली मुलुकका नागरिक रहेका छन्। अन्य पर्यटक विभिन्न मुलुकबाट आएका हुन्।
सन् २०२६ को अहिलेसम्मको तथ्याङ्कअनुसार सबैभन्दा धेरै विदेशी पर्यटक जुन महिनामा अन्नपूर्ण क्षेत्रमा पुगेका थिए। उक्त महिनामा १ लाख ८ हजार ७०३ पर्यटकले क्षेत्रको भ्रमण गरेका थिए। त्यसैगरी जनवरीमा सबैभन्दा कम अर्थात् २० हजार ६३ जना पर्यटक आएका थिए।
अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना कार्यालयले अन्नपूर्ण चक्रीय पदमार्गमा भ्रमण गर्ने विदेशी पर्यटकको मात्रै अभिलेख राख्ने गरेको छ। सडकमार्गबाट अन्नपूर्ण क्षेत्र पुग्ने आन्तरिक पर्यटकको सङ्ख्या भने उक्त तथ्याङ्कमा समावेश हुँदैन।
अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, तिलिचो ताल, थोरङ्ला भञ्ज्याङ, उपल्लो मुस्ताङ र घोडेपानी यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन्। प्राकृतिक सौन्दर्य, हिमाली दृश्य र पदयात्राका लागि यी क्षेत्र विदेशी पर्यटकको आकर्षणमा पर्दै आएका छन्।
करिब ७ हजार ६०० वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको अन्नपूर्ण संरक्षण क्षेत्रले कास्की, लमजुङ, मनाङ, म्याग्दी र मुस्ताङ जिल्लाका १५ स्थानीय तहअन्तर्गत ८७ वटा वडा समेटेको छ।









Facebook Comments