
गोरखा।गोरखाको धार्चे गाउँपालिका–१ स्थित ठाडोभ-याङ र यारुबगर क्षेत्रमा शनिबार बिहान ठूलो सुख्खा पहिरो गएको छ। पहिरोका कारण ठूलो परिमाणमा ढुंगा र माटो खसेर बूढीगण्डकी नदीको किनारसम्म पुगेको छ।
प्राप्त जानकारीअनुसार बिहान करिब ८:३० देखि ९ बजेको बीचमा पहिरो खसेको हो। पहिरोमा ठूलो मात्रामा ढुंगामाटो खसे पनि हालसम्म मानवीय क्षति वा भौतिक संरचनामा क्षति पुगेको विवरण प्राप्त भएको छैन।
धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङका अनुसार पहिरोबाट खसेको ढुंगा र माटोको केही हिस्सा बूढीगण्डकी नदीमा पुगेको छ। यद्यपि, पहिरोका कारण नदीको बहावमा अवरोध नआएको उनले जानकारी दिएका छन्।
घटनाबारे थप विवरण संकलन तथा अवस्थाको निरीक्षणका लागि प्रहरी टोली घटनास्थलमा खटाइएको छ। प्रहरी र स्थानीय प्रशासनले पहिरोको अवस्था तथा सम्भावित जोखिमबारे जानकारी लिने काम गरिरहेका छन्।
पहिरोबाट तत्काल कुनै क्षति नभएको बताइए पनि ठूलो परिमाणमा ढुंगामाटो खसेकाले घटनास्थलको अवस्थाबारे थप निगरानी भइरहेको छ।









Facebook Comments