काठमाडौँ । नेपाली कांग्रेसले भीमफेदीमा भएको सडक दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ । 

बिहीबार मकवानपुरको भीमफेदी–६ स्थित चिसापानीगढीमा दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको र छ जना गम्भीर घाइते भएको घटनाप्रति दुःख व्यक्त गरेको हो ।  

ad

काठमाडौँबाट सर्लाहीको चक्रघट्टा गाउँपालिकाको सुन्दरपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुबाहक विद्युतीय गाडी ९इभी० बिहीबार बिहान दुर्घटना भएको थियो । 

नेपाली कांग्रेसले आज एक प्रेस विज्ञप्ति जारी गर्दै  दुर्घटनामा परी जीवन गुमाउनुहुने सम्पूर्ण मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिरशान्तिको कामना गरेको छ । 

कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिमा शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

“मृतकका परिवारलाई तत्काल उचित राहतको व्यवस्था गर्न र घाइतेको निःशुल्क एवं प्रभावकारी उपचारको प्रबन्ध गर्न नेपाली कांग्रेस नेपाल सरकारसँग जोडदार माग गर्दछ,” नेपाली कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसले पछिल्लो समय देशभर सडक दुर्घटनाका घटनाहरू बढ्दै जानु गम्भीर चिन्ताको विषय भएको जनाएको छ ।

सडक दुर्घटनाको बढ्दो जोखिमलाई न्यूनीकरण गर्न सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणहरूको गहन अध्ययन गर्नुका साथै सडक सुरक्षा, सवारीसाधनको अवस्था, चालकको जिम्मेवारी र यातायात व्यवस्थापनमा देखिएका कमजोरी पहिचान गरी प्रभावकारी नीतिगत तथा व्यावहारिक सुधारका उपाय अवलम्बन गर्न नेपाली कांग्रेस सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ, विज्ञप्तिमा भनिएको छ ।