काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले बडादसैँ एकता, आत्मीयता र भलाकुसारीको सङ्गमका रूपमा नेपालीमाझ स्थापित चाड भएको बताएका छन् । 


बडादसैँका अवसरमा आज सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री शाहले बडाका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने परम्परा सानालाई माया र ठूलालाई आदर गर्ने हाम्रो मौलिक परम्पराको प्रतिबिम्ब भएको उल्लेख गरेका छन् । 

ad

प्रधानमन्त्रीले बडादसैँ देशभित्रका विभिन्न स्थानहरूबाट मात्र नभइ देशबाहिरबाट समेत आफ्नो घरआँगनमा फर्कने, आफ्ना परिवार र आत्मीयजनहरूसँग भलाकुसारी गर्ने, खानपान गर्ने र रमाइलो गर्ने अवसरका रूपमा युगौँदेखि परिचित रहेको समेत बताएका छन् । “बडादसैँको माहोलको आकाश नै अलग हुन्छ, धर्तीको सुगन्ध छुट्टै हुन्छ अनि वातावरण त्यसै–त्यसै उल्लासमय र उमङ्गले भरिपूर्ण हुन्छ”, उनले भनेका छन् । 

प्रधानमन्त्री शाहले यस पावन उत्सवको अवसरमा सम्पूर्णमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकताबद्ध गर्ने चाडका रूपमा रहेको बडादसैँले हरेक घरमा उत्सव र उमङ्ग ल्याओस् भन्ने कामना गरेका छन् । 

“तपाईं–हाम्रो घरआँगनमा नेपालीहरूको महान् चाड बडादसैँले प्रवेश गरिसकेको छ । आज सप्तमी तिथि अर्थात् फूलपाती, दशमी तिथि अर्थात् विजया दशमीको दिन टीका ग्रहण गर्ने मुख्य दिन रहे तापनि नवरात्रको सुरुवात विधिपूर्वक घटस्थापना गरेर यसअघि नै भइसकेको छ”, उनले भनेका छन् । 

प्रधानमन्त्री शाहले नेपालीहरूले विभिन्न विषम र सङ्कटपूर्ण परिस्थितिहरूबाट गुज्रँदै पनि चाडपर्वका अवसरहरूमा धार्मिक, सांस्कृतिक तथा सामाजिक मूल्यमान्यता र मौलिकताको जगेर्ना गर्दै अविच्छिन्न रूपमा चाडपर्व मनाउँदै आएका समेत स्मरण गरेका छन् । 

“कुनै बेला भूकम्पले थलिएको अवस्थामा पनि, अनि कुनै बेला कोभिडजस्तो महामारीको बीचमा पनि दसैँ आयो र गयो । अघिल्लो वर्ष जेनजी आन्दोलन र त्यसपछिको तनावपूर्ण परिस्थितिको केही समयमै हामीमाझ दसैँ आयो । हामीले आफ्नो रीतिथिति र परम्पराअनुसार मनायौँ”, उनले भनेका छन् । 

यस वर्ष पनि रसुवा, नुवाकोट, गोरखालगायतका ठाउँहरूमा भएका प्रलयकारी विनाशको शोक आलो रहँदै दसैँ आइपुगेको उल्लेख गर्र्दै प्रधानमन्त्रीले ज्यान गुमाउनुभएकाहरूको चिरात्माको शान्ति तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्न गर्नुभएको छ । साथै सिङ्गो देशका तर्फबाट शोकसन्तप्त परिवारहरूप्रति  समवेदना व्यक्त गरेका छन् । सरकारले तदारुकताका साथ विस्थापित नागरिकहरूको पुनःस्थापनाका निम्ति काम गरिरहेको सामाजिक सञ्जालमा प्रधानमन्त्रीले लेखेका छन् । 

दसैँ असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा पनि मनाउने गरिन्छ । आसुरी प्रवृत्तिमाथि दैवी विजयको धार्मिक मान्यता बोकेको यस दशैंको अवसरमा उनले सम्पूर्ण नेपालीहरूमा सत्यको बाटोमा हिँड्ने अभिप्रेरणा मिलोस्, सामाजिक रूपमा आसुरी प्रवृत्तिको पराजय होस् र आत्मिक रूपमा हामी हरेकले आफूभित्रको महिषासुर र रावणलाई चिन्न सकौँ तथा तिनमाथि विजय प्राप्त गर्न सकौँ भन्ने शुभभाव व्यक्त गरेका छन् । “मानव दुःखका प्रमुख कारणका रूपमा रहेका काम, क्रोध, लोभ, इर्ष्या  र अहङ्कारमाथि विजय प्राप्त गर्न सकौँ भन्ने शुभकामना पनि व्यक्त गर्दछु”, उनले भनेका छन् ।

प्रधानमन्त्री शाहले पारिवारिक मिलन र आफन्तजनको सामीप्यमा हर्षोल्लासका साथ मनाइनुपर्ने चाडपर्वहरू हिजोआज रित्ता र उजाडिँदै गएका गाउँका घरआँगनहरूमा निरस देखिँदै गइरहेको तीतो यथार्थलाई पनि शुभकामना सन्देशमा स्मरण गरेका छन् ।हरेक दिन बाध्यताले विदेशिनुपर्ने दाजुभाइ तथा दिदीबहिनीहरूको पीडा र चाडपर्वका अवसरमा पारिवारिक मिलनका लागि घर फर्कने चाहना हुँदाहुँदै पनि फर्कन नपाई परदेशमा रित्तो निधार लिएर बस्न बाध्य हुनुपर्ने लाखौँ नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको नियति बदल्न हामी सबैको हातेमालोबाट सम्भव छ भन्नेमा उनले दृढ विश्वास व्यक्त गरेका छन् । उनले भनेका छन्, “सरकार देशको समृद्धि र आमनागरिकको सुखद जीविकाप्रति प्रतिबद्ध रहँदै अगाडि बढिरहेको छ भन्नेमा आश्वस्त पार्न चाहन्छु ।”

आर्थिक रूपमा हरेक नागरिकको सम्पन्नताले नै चाडपर्वहरूको रौनक अझै थपिन्छ । आर्थिक कारणले नै दसैँजस्तो महान् पर्व कसैका लागि बोझ बन्नु हुँदैन भन्नेमा सरकार सचेत भएको उनको भनाइ छ । उनले आर्थिक सम्पन्नताको बाटोमा यथोचित पाइला अघि बढाउँदै देशलाई सुशासनको मार्गमा अग्रसर गराउन वर्तमान सरकार अहोरात्र खटिइरहेको पनि उल्लेख गरेका छन्

शुभकामना सन्देशमा भनिएको छ, “दशैंको अन्तर्यमा रहेको सत्यको विजयलाई आत्मसात् गर्दै सत्यको बाटोमा र सुशासनको बाटोमा हिँड्न माता दुर्गाभवानीको सत्प्रेरणा र कृपा हामी सबैमा सदैव परिरहोस् भन्ने शुभेच्छासहित सबै जनामा बडादसैँको सुअवसरमा आरोग्य, सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । सभ्य र भव्य रूपमा दसैँ मनाऔँ ।”