काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । शनिबार मलेसियामा भएको फाइनलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै आगामी एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

वायुमास ओभलमा नेपालले प्रस्तुत गरेको ३१४ रनको लक्ष्य पछ्याएको यूएई ४९.१ ओभरमा २६९ रनमै समेटियो । यूएईका राहुल चोपराले अविजित शतक बनाए पनि टोलीलाई जित दिलाउन सकेनन् । तनिश सुरीले ४२ तथा कप्तान हरप्रित भाटियाले ३३ रन बनाए ।

ad

नेपालका करण केसीले उत्कृष्ट बलिङ गर्दै तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिए भने कप्तान सन्दीप लामिछाने, रोहित पौडेल, गुल्शन झा, बसिर अहमद र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै ३१३ रनको विशाल स्कोर बनाएको थियो ।

नेपालको इनिङ्समा आसिफ शेखले शतकीय पारी खेले । उनले १०६ बलमा आठ चौका र चार छक्काको मद्दतमा १०२ रन बनाए । यो आसिफको ओडीआई करियरको दोस्रो शतक हो ।

आसिफले अर्जुन कुमालसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गर्दै नेपाललाई बलियो सुरुवात दिलाएका थिए । त्यसपछि इशान पान्डेसँग दोस्रो विकेटका लागि ३६ रन तथा रोहित पौडेलसँग तेस्रो विकेटका लागि ६८ रनको साझेदारी गरे ।

अर्जुनले ४३ र कप्तान रोहित पौडेलले ४० रनको योगदान दिए । अन्त्यतिर गुल्शन झाले आक्रामक ब्याटिङ गर्दै ३८ बलमा तीन चौका र चार छक्कासहित ५२ रन जोडेपछि नेपालले ३१३ रनको योगफल तयार पारेको थियो ।

यूएईका इबरार अहमदले चार विकेट लिए । खुजाइमा बिन तनभिरले दुई तथा हैदर अली र अदीब उसमानीले एक–एक विकेट लिए ।

नेपाल र यूएईबीच प्रिमियर कपको फाइनलमा यो लगातार दोस्रो भेट हो । यसअघि सन् २०२३ मा भएको प्रिमियर कपको फाइनलमा पनि नेपालले यूएईलाई पराजित गर्दै उपाधि जितेको थियो ।

यसपटकको उपाधिसँगै नेपालले एसिया कप खेल्ने अवसरसमेत पक्का गरेको छ ।