काठमाडौं । कतारस्थित नेपाली व्यवसायीहरूको छाता संगठन 'नेपाली व्यवसायी संघ' ले नेपालमा हालै आएको अविरल वर्षा र बाढीपहिरोबाट प्रभावित भएकाहरूका लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ। संघको पहलमा संकलन गरिएको ३८ लाख २६ हजार राहत रकम मङ्गलबार अर्थमन्त्रीलाई हस्तान्तरण गरिएको हो।

संघका अध्यक्ष महेन्द्र चौलागाइँसहितको प्रतिनिधिमण्डलले अर्थ मन्त्रालय पुगेर प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा जम्मा हुने गरी अर्थमन्त्रीलाई चेक हस्तान्तरण गरेको संघका उपाध्यक्ष नरेन्द्र भाटले जानकारी दिए। विपद्को यस कठिन घडीमा स्वदेशमा रहेका पीडितहरूलाई मद्दत पुर्‍याउने उद्देश्यले कतारमा रहेका नेपाली व्यवसायी तथा मनकारी दाताहरूबाट सो रकम संकलन गरिएको उपाध्यक्ष भाटले बताए।

राहत हस्तान्तरण कार्यक्रममा उपस्थित सम्पूर्ण व्यवसायी तथा प्रतिनिधिहरूलाई संघका तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ। साथै, संकटको समयमा ऐक्यबद्धता जनाउँदै स्वतःस्फूर्त रूपमा सहयोग गर्ने कतारस्थित सम्पूर्ण दाताहरूप्रति संघले विशेष आभार व्यक्त गरेको छ।

ad