काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीको १० औँ दिन बितिसक्दा पनि रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाहरूमा ठूलो संख्यामा सम्पर्कविहीन रहेका कर्मचारी तथा श्रमिकहरूको खोजी तथा उद्धार कार्य अहोरात्र जारी छ। 

बाढीले कुल १२ वटा जलविद्युत् आयोजनामा क्षति पुर्‍याएपछि सुरुङ, भूमिगत विद्युत् गृह तथा आवास क्षेत्रमा फसेकाहरूको उद्धारका लागि सुरक्षा निकाय र प्राविधिक टोलीहरू जोखिम मोलेर खटिएका छन्।

ad

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीका साथै विशेषज्ञ, पर्वतारोही शेर्पा र ड्रोन टोलीले विभिन्न आयोजना स्थलमा अत्याधुनिक उपकरण, क्यामेरा र तालिम प्राप्त कुकुरको प्रयोग गरी खोजी थप तीव्र बनाएका छन्।

माथिल्लो त्रिशूली–३ 'ए': २१६ घण्टा (१० दिन) पछि नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान सञ्जय शाह र मेकानिकल सुपरभाइजर कबीर महर्जनको सुरुङभित्रबाट जीवितै उद्धार गरिएको छ। उनीहरूको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ। सोही सुरुङबाट एक जनाको शव निकालिएको छ। कुल ४२ जना सम्पर्कविहीन रहेकोमा अब ३९ जनाको खोजी बाँकी छ। टोलीले ठूला ढुंगा फुटाउँदै सुरुङ सफा गरिरहेको छ।

त्रिशूली–३ 'बी': यहाँ १९१ जना सम्पर्कविहीन छन्, जसमा निर्माण कम्पनीका श्रमिक, कर्मचारी, सुरक्षा गार्ड र काठमाडौँ विश्वविद्यालयका ३ जना इन्टर्न विद्यार्थी समावेश छन्। ठूला उपकरण पुर्‍याउने बाटो बाढीले तहसनहस पारेकाले डाँडा काटेर वा एस्काभेटरका पार्टपूर्जा अलग-अलग लगेर जोड्ने प्रयास भइरहेको छ।

माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट): ५५७ जना श्रमिक तथा कर्मचारी अझै बेपत्ता छन्। पहुँच सुरुङमा रबर बोटमार्फत करिब २०० मिटर भित्र पुगेर खोजी गर्दा एक शव फेला परेको छ। टनेल हेड र टेल क्षेत्रमा ३ देखि ४ मिटरसम्म बाक्लो दलदल जमेकाले उद्धारमा निकै चुनौती थपिएको छ।

रसुवागढी जलविद्युत् आयोजना (१११ मेगावाट): भूमिगत विद्युत् गृह र सुरुङमा गरी ९३ जना सम्पर्कविहीन छन्। नदीको बहाव बढेर हेलिकप्टर अवतरण गर्ने स्थान समेत नहुँदा उद्धार प्रभावित भएको छ। पर्वतारोही शेर्पाहरूको टोली परिचालन गरी खोजी अघि बढाइँदैछ।

लाङटाङ खोला जलविद्युत् आयोजना: सेनाको टोलीले सुरुङभित्र २०० मिटरसम्म पुगेर दुई जनाको शव निकालेको छ। सुरुङमा प्वाल पारेर तथा विशेष क्यामेराको सहयोगमा थप मानिसको खोजी गरिँदैछ।

चिलिमे जलविद्युत् आयोजना (२० मेगावाट): भूमिगत विद्युत् गृहमा ६ जना कर्मचारी फसेको अनुमान छ। सुरुङको मुख पूरै टालिएको र नदीमा लेदो थुप्रिएर पानीको सतह १० मिटरसम्म बढेकाले उद्धार टोली भित्र प्रवेश गर्न सकेको छैन।

दीर्घकालीन जोखिम र पूर्वाधारको नयाँ चुनौती

आयोजना प्रमुख तथा प्राविधिकहरूका अनुसार यसपटकको बाढीले भूमिगत (अन्डरग्राउन्ड) संरचनाहरू समेत सुरक्षित नरहेको गम्भीर तथ्य उजागर गरेको छ। यस घटनाले आगामी दिनमा जलविद्युत् आयोजनाको डिजाइन, जोखिम मूल्याङ्कन, हिमताल तथा हिमनदीजन्य जोखिम (GLOF) को व्यवस्थापन र आपत्कालीन उद्धार प्रणालीमा व्यापक सुधार गर्नुपर्ने आवश्यकता औँल्याएको छ।

त्रिशूली–३ 'ए' मा १० दिनपछि भएको चमत्कारिक जीवित उद्धारले सुरुङभित्र फसेका अन्य श्रमिकका परिवार र उद्धार टोलीमा ठूलो आशा भने जगाएको छ।