काठमाडौँ । लाङटाङ लिरुङको उत्तरी मोहडाबाट हिमचट्टान खसेपछि आएको बाढीले भोटेकोशी क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ। पछिल्लो घटनालाई वैज्ञानिकहरूले तत्काल पूर्वानुमान गर्न कठिन हुने प्रकृतिको विपत्तिका रूपमा व्याख्या गरेका छन्।

नेपालको हिमाली भूभाग जलवायु परिवर्तनसँगै भूकम्पीय गतिविधि र भूगर्भीय अस्थिरताको जोखिममा रहेको वैज्ञानिकहरूको निष्कर्ष छ। तापक्रम बढ्दै जाँदा हिमनदी पग्लिने क्रम तीव्र बनेको र त्यसको परिणामस्वरूप हिमतालहरू विस्तार भइरहेकाले भविष्यमा हिमताल विस्फोटजन्य बाढी (ग्लोफ) को जोखिमसमेत बढ्न सक्ने उनीहरूको चेतावनी छ।

ad

अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले सन् २०२० मा सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले नेपाल, चीनको तिब्बत र भारतमा गरी ४७ हिमताल विस्फोटको उच्च जोखिममा रहेको देखाएको थियो।

प्रतिवेदनअनुसार जोखिमयुक्त ४७ हिमतालमध्ये २१ वटा नेपालमा छन्। नेपालमा पहिचान भएका तीमध्ये आठ हिमताल नयाँ पहिचान भएका हुन् भने १३ वटा सन् २०११ मै जोखिमयुक्त सूचीमा समावेश गरिएका थिए।

त्यस्तै, चीनको तिब्बत क्षेत्रमा २५ र भारतमा एउटा हिमताल विस्फोटको जोखिममा रहेको प्रतिवेदनमा उल्लेख छ। अनुसन्धानकर्ताहरूले जोखिमको गम्भीरताका आधारमा यी हिमताललाई तीन तहमा वर्गीकरण गरेका छन्। जसअनुसार ३१ वटा पहिलो, १२ वटा दोस्रो र चार वटा तेस्रो श्रेणीमा राखिएका छन्।

नेपालको हिमाली क्षेत्रमा जोखिमको दायरा ठूलो रहेको तथ्य यहाँ रहेका हिमनदी र हिमतालको संख्याले पनि देखाउँछ। नेपालमा ३ हजार ८ सयभन्दा बढी हिमनदी तथा २ हजार ३ सयभन्दा बढी हिमताल रहेको तथ्यांक छ।

जलवायु परिवर्तनका कारण हिमाली प्रणालीमा भइरहेको परिवर्तनसँगै भूकम्प र भूगर्भीय अस्थिरता जोडिँदा हिमताल तथा हिमनदी आसपासका बस्ती र पूर्वाधारमा जोखिम थप बढ्न सक्ने वैज्ञानिकहरूको आकलन छ।