
नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक विशेषताले भरिपूर्ण सामाजिक सद्भाव कायम रहेको देश हो । परापूर्वकालदेखि नै नेपालमा विभिन्न धर्म, सम्प्रदाय र आस्थामा विश्वास गर्ने मानिसहरू एकापसमा भाइचारा र सहअस्तित्व कायम गर्दै सँगै वस्दै आएका छन् । मन्दिरको छेउमा मस्जिद र गुम्बाको परिसरमा चर्च हुनु तथा एउटाको धार्मिक कार्यक्रममा अर्को धर्मका अनुयायीहरूलेसँगै पर्व मनाएर रमाउनु नेपाली समाजको मौलिक पहिचान र बिविधतामाबीचको एकताको हो । यही धार्मिक तथा सामाजिक सद्भाव नै हाम्रो राष्ट्रिय एकता र बलियो आधारस्तम्भ हो । त्यसैले अहिले सवै राष्ट्रिय दलहरू र विभिन्न संघसंस्थाहरूले धार्मिक सद्भावको लागि एक भएर अपिल गरेका छन् ।
पछिल्लो समय प्रविधिको विकाससँगै विशेष गरी सामाजिक सञ्जालमा फैलाइने नकारात्मक टिप्पणी, भ्रामक सूचना र नियतवश गरिने अनर्गल प्रचारले धार्मिक सहिष्णुतामाथि बेलाबेलामा आँच पु¥याउने दुस्साहस भइरहेको देखिन्छ । समाजमा विद्वेष फैलाएर आफ्नो राजनीतिक वा व्यक्तिगत स्वार्थ पूर्ति गर्न खोज्ने तत्त्वहरू सल्बलाउनु गम्भीर चिन्ताको विषय हो । कुनै पनि धर्मले घृणा, हिंसा वा विभेदको पाठ सिकाउँदैन । सबै धर्मको मूल मर्म भनेकै मानव कल्याण, शान्ति, करुणा र बन्धुत्व हो । त्यसैले, धर्मको नाममा विभाजन रेखा कोर्ने प्रयासलाई समयमै निस्तेज पार्नु हामी सबैको साझा कर्तव्य हो ।
सुनसरीको देवानगन्ज गाउँपालिका–३, कप्तानगन्जमा गत आइतबार दुई समूहबीचको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागि दुई युवाको मृत्यु हुनाको साथै २२ जना घाइते भएपछि केही दिन सुनसरीलगायत मधेस प्रदेशका केही जिल्ला अशान्त बन्न पुगे । सामान्य भनाभनबाट सुरु भएको झडपले केहीबेरमै हिंसात्मक रूप लिएर गोली प्रहार, तोडफोड, आगजनी, कफ्र्यु र सेना परिचालन गर्नुपर्ने अवस्थासम्म पुग्नु गम्भीर र चिन्ताको विषय हो । यो संवेदनशील घटनापछि सरकारले समयमा नै प्रभावकारी कदम चाल्न नसक्दा सुनसरीबाट सिरहा, सप्तरी, धनुषा र पर्सामा साम्प्रदायिक झडपको अवस्था सिर्जना हुँदा देशको धार्मिक सद्भावमा चुनौती देखाप¥यो । यस्ता घटनामा शान्तिसुरक्षा कायम गर्नु र समाजमा विभाजन र अविश्वास फैलिन नदिनु प्रमुख चुनौती हो । यस्तो समयमा राज्य पक्ष, आम नागरिक, राजनीतिक दल, धार्मिक तथा सामाजिक नेतृत्व, सञ्चारमाध्यमहरू संयमित हुनु जरुरी छ ।
विविधताबीचको एकता, सहिष्णुता, पारस्परिक भाइचारा, मेलमिलाप, सामाजिक सद्भाव नेपालको साझा सम्पत्ति हो । बहुसांस्कृतिक, बहुधार्मिक र बहुजातीय नेपाली समाजमा सदियौँदेखि रहिआएको सद्भाव, मेलमिलाप र भ्रातृत्व नै नेपालको मौलिक पहिचान तथा परम्परा हो । धर्मको नाममा सामाजिक विभाजन र हिंसा फैलाउने प्रयासप्रति सचेत रहन जरुरी छ । लामो समयदेखि नेपालमा कायम रहेको धार्मिक सहअस्तित्व र सामाजिक सद्भावलाई कमजोर पार्ने गतिविधि कदापि स्वीकार्य हुन सक्दैन ।
नेपालको विविधता र राष्ट्रिय एकतालाई जोगाउन सबै नागरिक, राजनीतिक दल र समुदाय जिम्मेवार बन्नु आवश्यक छ । यस्ता घटना दोहोरिन नदिन सबै पक्ष संयम र सचेत हुनु जरुरी छ । बहुधार्मिक, सांस्कृतिक र बहुपहिचानयुक्त मुलुक नेपालमा वर्षौंदेखि हामी नेपालीहरू मिलेर बसेका छौँ । तर, यो सद्भावमा समय समयमा दख्खल पु¥याउने कामहरू भइरहेका छन्, यसतर्फ सबै सचेत र सजग हुनुपर्छ । नेपालको विशेषता र पहिचानको रूपमा रहेको धार्मिक सहिष्णुतालाई अझै मजबुत पार्ने कार्यमा सबै सजग रहनुपर्छ । यस्ता घटनाका मूल कारणको पहिचान गरेर त्यसको निराकरण गर्दै पर्याप्त समन्वय, सुरक्षा सजगता र सतर्कता अपनाउँदै थप संयमित र जिम्मेवार भएर राज्य पक्ष प्रस्तुत हुनुपर्छ ।
कुनै पनि धर्म, सम्प्रदाय, जाति, क्षेत्र एवं लिंगको आपसी सम्मान अभिवृद्धि गर्नु, आपसी सद्भाव कायम गर्नु, अर्को धर्म सम्प्रदायप्रति घृणा द्वेष फैलिने कुनै पनि कार्य नगर्नु, अर्को धर्म सम्प्रदायको आत्मसम्मानमा चोट पुग्ने कुनै पनि गतिविधि नगर्नु हाम्रो धार्मिक संस्कारको मूल आधार विगतदेखि रही आएको छ । आफ्नो धार्मिक तथा सांस्कृतिक आस्था अनुसार धर्म र संस्कृति अनुसरण तथा अभ्यास गर्ने स्वतन्त्रता हरेक नेपाली नागरिकलाई छ । यो मौलिक अधिकारलाई नेपालको संविधानले समेत पूर्ण प्रत्याभूति गरेको छ । सबै धर्मले प्रेम, दया, सत्य, सहिष्णुता र मानव सेवाको शिक्षा दिन्छन् । त्यसैले धर्मलाई विभाजनको होइन, आपसी समझदारी, सहयोग र एकताको माध्यम बनाउनु आवश्यक छ । नेपालजस्तो विविधताले भरिएको देशमा धार्मिक सहिष्णुता, आपसी सम्मान र सामाजिक एकताको महत्व अझ बढी छ । धार्मिक तथा सामाजिक सद्भाव, सहिष्णुता र सामाजिक एकतालाई थप सुदृढ बनाउन सबै लाग्नुपर्ने अहिलेको टड्कारो आवश्यकता हो ।






Facebook Comments