काठमाडौं । नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुंगा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ। जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहुलियतपूर्ण ऋण सहयोगमा करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको यो परियोजनाले नेपालको सडक पूर्वाधार विकासमा नयाँ अध्याय थपेको सरकारको भनाइ छ।

उद्घाटन समारोहमा जाइकाका अध्यक्ष डा. तनाका अकिहिको, नेपालका लागि जापानी राजदूत माएडा तोरु, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल, सरकारी अधिकारी, प्राविधिक तथा स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

ad

समारोहलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले सुरुङमार्ग सञ्चालनसँगै नागढुंगाको पुरानो जाम, जोखिमपूर्ण घुम्ती र पहिरोका कारण हुने सास्ती उल्लेखनीय रूपमा घट्ने बताए। उनका अनुसार धादिङको सिस्नेखोलादेखि काठमाडौंको बलम्बुसम्मको यात्रा अब केही मिनेटमै पूरा गर्न सकिनेछ, जसले यात्राको समय, इन्धन र सञ्चालन खर्च बचत गर्नेछ।

नेपालका लागि जापानी राजदूत माएडा तोरुले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा यो आयोजना सम्पन्न हुनु दुई देशबीचको सहकार्यको महत्वपूर्ण उपलब्धि भएको बताए। उनले जटिल भौगोलिक चुनौतीबीच जापानको सुरुङ निर्माण अनुभव र नेपाली जनशक्तिको मेहनतका कारण परियोजना सफल बनेको उल्लेख गरे।

जाइकाका अध्यक्ष डा. तनाका अकिहिकोले सुरुङ निर्माणमा करिब ९८ प्रतिशत नेपाली इन्जिनियर, प्राविधिक र कामदारको योगदान रहेको जानकारी दिँदै यसको दीर्घकालीन सञ्चालन र मर्मतसम्भारका लागि नेपालसँग प्राविधिक सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

यद्यपि सुरुङमार्ग उद्घाटन भए पनि सर्वसाधारणका लागि तत्काल खुला गरिने छैन। आयोजनाका अनुसार सुरुवाती चरणमा एम्बुलेन्स, दमकल, सुरक्षा निकाय र विपद् व्यवस्थापनका अत्यावश्यक सवारीलाई मात्र प्रवेश अनुमति दिइनेछ। करिब तीन महिनासम्म परीक्षण सञ्चालन गरिने र त्यस अवधिमा सुरक्षासम्बन्धी मापदण्डको मूल्यांकन गरिनेछ।

आयोजनाका इन्जिनियर सञ्जय पन्थीका अनुसार प्रारम्भिक १५ दिन आकस्मिक सेवाका सवारी साधन मात्रै सञ्चालन गरिनेछ। परीक्षण अवधिमा टोल शुल्क लिने वा नलिने विषयमा सडक बोर्डले औपचारिक निर्णय गर्ने भए पनि सुरुवाती तीन महिनासम्म शुल्क नलिन मन्त्रीस्तरबाट निर्देशन दिइएको उनले बताए।

सरकारले सुरुङमार्ग पूर्ण सञ्चालनमा आएपछि विभिन्न सवारीका लागि टोल शुल्क पनि निर्धारण गरिसकेको छ। कार तथा भ्यानका लागि काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तोकिएको छ भने अन्य सवारीका लागि पनि वर्गअनुसार छुट्टाछुट्टै शुल्क कायम गरिएको छ। शुल्क संकलनका लागि ‘एन–ट्याग’ प्रणाली लागू गरिनेछ भने नगद भुक्तानीको विकल्प पनि रहनेछ।

सुरुङमार्ग प्रयोग गरेपछि साना सवारीले कम्तीमा १५ मिनेट र ठूला सवारीले करिब ३५ मिनेटसम्म यात्रा समय बचत गर्ने आयोजनाको दाबी छ। सुरुङमार्गबाट धादिङको सिस्नेखोलादेखि बलम्बुसम्मको यात्रा करिब सात मिनेटमा पूरा हुने बताइएको छ। तर सुरक्षा कारण देखाउँदै मोटरसाइकल, स्कुटर तथा प्रज्वलनशील पदार्थ बोकेका सवारीलाई सुरुङभित्र प्रवेश गर्न नदिइने व्यवस्था गरिएको छ।

सुरुङभित्र अत्याधुनिक सुरक्षा प्रणाली जडान गरिएको छ। समानान्तर उद्धार सुरुङ, जेट फ्यान, सीसीटीभी क्यामरा, आपत्कालीन टेलिफोन, अग्नि नियन्त्रण प्रणाली तथा नेपाल टेलिकमको मोबाइल नेटवर्क र एफएम सेवा उपलब्ध हुने व्यवस्था गरिएको आयोजनाले जनाएको छ। उद्धार तथा सञ्चालनका लागि २४सै घण्टा विशेष जनशक्ति परिचालन गरिनेछ।

२०७६ कात्तिकदेखि निर्माण सुरु भएको यो आयोजना प्रारम्भिक लक्ष्यअनुसार चार वर्षमा सम्पन्न हुनुपर्ने थियो। तर कोभिड–१९ महामारी, प्राविधिक चुनौती, स्थानीय समस्या तथा सिस्नेखोलातर्फ गएको पहिरोका कारण चार पटक म्याद थपिँदा परियोजना सात वर्षपछि सम्पन्न भएको हो। सुरुमा करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको लागत अन्ततः बढेर करिब २९ अर्ब रुपैयाँ पुगेको आयोजनाले जनाएको छ।