नयाँ दिल्ली । प्रश्नपत्र बाहिरिएको (पेपर लिक) प्रकरणलाई लिएर देशभर चर्किएको विद्यार्थी आन्दोलन र चौतर्फी राजनीतिक दबाबपछि भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो राजीनामापत्र सार्वजनिक गर्दै उनले प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पदत्यागको घोषणा गरेका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बहुवर्षीय कार्यकालमा तीव्र जनदबाब र विरोधका कारण कुनै केन्द्रीय मन्त्रीले राजीनामा दिनुपरेको यो पहिलो घटना हो।

ad

अभिजित दिपके र ‘कक्रोच जनता पार्टी’ले इन्टरनेटमार्फत सुरु गरेको अभियान छोटो समयमै देशव्यापी आन्दोलनमा परिणत भएको थियो। विशेष गरी गत सोमबार (जुलाई २०) नयाँ दिल्लीको जन्तरमन्तरमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका विद्यार्थीहरूमाथि दिल्ली पुलिस र र्‍यापिड एक्सन फोर्सले बल प्रयोग गरेपछि जनआक्रोश उत्कर्षमा पुगेको थियो।

सरकार र आन्दोलनकारीका प्रतिनिधिबीच भइरहेको वार्तामा प्रदर्शनकारीहरूले शिक्षामन्त्रीको राजीनामालाई मुख्य र ‘अपरिवर्तनीय सर्त’ बनाएका थिए। विपक्षी दलहरूले पनि संसद्मा यही मुद्दा उठाएर मन्त्रीको राजीनामा मागेपछि उनी चौतर्फी घेराबन्दीमा परेका थिए।

राजीनामापत्रमा मन्त्री प्रधानले देशको राष्ट्रिय एकता र विद्यार्थीहरूको भविष्यलाई ध्यानमा राखेर यो निर्णय लिएको दाबी गरेका छन्। उनले लेखेका छन्, “जन्तरमन्तर लगायत देशका विभिन्न भागमा उत्पन्न परिस्थिति, अवाञ्छित तत्वहरूले यसको फाइदा नउठाऊन् भन्ने सजगता, राष्ट्रिय एकताको निरन्तरता तथा हाम्रा बालबालिकाको भविष्य कानुनी उल्झनमा नफसोस् भनेर मैले राजीनामा दिएको हुँ।”

प्रधानले आफ्नो राजीनामापत्रमा ‘अवाञ्छित तत्व’लाई दोष दिन खोजे पनि यो निर्णय महिनौँदेखि देशभर चर्किएको युवा तथा विद्यार्थी आन्दोलनकै परिणाम भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। राजीनामा दिँदै उनले प्रधानमन्त्री मोदी र मन्त्रिपरिषद्का सहकर्मीहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि जनताको सेवामा सक्रिय रहने प्रतिबद्धता जनाएका छन्।